चितवन – यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कोरोना भाइरसको उच्च जोखिममा रहेको छ । अस्पतालमा कोरोनाको सङ्क्रमण देखिएका जिल्लाबाट दैनिक बिरामी उपचारका लागि आउँने भएपछि रोगको जोखिम उच्च भएको हो ।


ADVERTISEMENT


अस्पतालका कार्यकारी दिर्नेशक डा विजयचन्द्र आचार्य लकडाउनको समयमा समेत दैनिक एक सय हाराहारी बिरामी आउने गरेको बताउँछन् । अस्पतालमा अत्यावश्यक सेवा मात्र उपलब्ध गराइएको छ । अन्य समयमा यो सङ्ख्या दैनिक ६०० भन्दा बढी हुने गर्दछ । आचार्यका अनुसार यसरी आएका बिरामीमध्ये ९५ प्रतिशत चितवन बाहिरका रहेका छन् ।


ADVERTISEMENT

# # #


लकडाउनपछि भारतबाट बिरामी नआए पनि सीमा क्षेत्रका बिरामीको सङ्ख्या धेरै भएको अस्पतालले जनाएको छ । अत्यावश्यक रेडियोथेरापी, केमोथेरापी र शल्यक्रियाहरु भइरहेको उनले जानकारी दिए ।

देशैभरबाट बिरामी आउँने हुँदा अस्पताल उच्च जोखिममा परेको आचार्य बताउँछन् । केही दिन अत्यावश्यक बाहेकका बिरामी अस्पताल नआउन भनिएपनि दबाब थेग्न कठिन भएको आचार्य बताउँछन् । अस्पतालले विशेषज्ञ चिकित्सकहरुको मोवाइल नम्बर सार्वजनिक गरी परामर्श गर्न अनुरोध गरेको छ ।

हरेक वर्ष अस्पतालले आठ हजारभन्दा बढी क्यान्सरका बिरामीको उपचार गर्दै आएको छ भने एक लाख ४० हजार हाराहारी बिरामीलाई बहिरङ्ग सेवामा हेर्ने गर्दछ । चिनीया सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा हाल ४५० शैया रहेको छ । रासस