काठमाडौं – उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण (कोभिड(१९) पुष्टि भएको छ । उनी ३३ वर्षका पुरुष हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार एक ३३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT


मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा मंगलबार प्रवक्ता डा. देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको स्वाब परीक्षणमा ती युवाको रिपोर्ट पोजिटिभ आएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै उदयपुरमा मात्र कोरोना पुष्टि हुनेको संख्या १४ पुगेको छ । उदयपुरका अन्य केहीमा पनि कोरोना आशंका गरिएको छ । उनीहरुको स्वाब परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित कोसी अस्पतालमा पठाइएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । जसमध्ये ४ जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

मंगलबारसम्म देशभरी आरडीटी विधिबाट २७ हजार ९ सय ५६ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट ८ हजार ८ सय ६८ नमुना परीक्षण भएको छ। हालसम्म दुवै विधिबाट गरी ३६ हजार ७ सय १९ को परीक्षण भएको छ। त्यसैगरी अहिलेसम्म विभिन्न आइसोलेसनमा १०७ जना रहेका छन्। काठमाडौंमा ६ जना र उपत्यकाबाहिर १०१ जना आइसोलेसनमा रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।