काठमाडौँ – नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने पत्रकारहरु कोरोनाबाट प्रभावित भइरहेको भन्दै दुःख व्यक्त गरेको छ ।


ADVERTISEMENT


मंगलबार एक विज्ञप्ती मार्फत दुःख व्यक्ति गर्दै महासंघका महासचिव रमेश विष्टले फिल्डमा खटिएर सूचना तथा समाचार संकलन गर्ने पत्रकारहरुलाई आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न अपिल गरेको हो । मंगलबार वीरगञ्जमा देखिएका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकारहरु समेत रहेको खबर आएका थिए ।


ADVERTISEMENT

# # #


‘आज सरकारले घोषणा गरेका ५७ जना कोरोना भाइरस संक्रमितमध्ये कम्तिमा दुई जना पत्रकार संक्रमित हुन पुगेका छन् भने अन्य पत्रकारको स्वास्थ्य परीक्षण भईरहेको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘यो संवेदनशील घडीमा सीमित स्रोत, साधन र अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिएर पेशागत धर्म निभाइरहेका पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ ।’

यस्तै महासंघले कोरोना भाइरसको जोखिमकाबीच फिल्डमा खटिने पत्रकारहरुको लागि आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघले कोरोना सक्रमणबाट अति प्रभावित जिल्लामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि तत्काल पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ ।