काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीपूर्वका लम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएकाले भारतीय सेना त्यहाँबाट फिर्ता हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सहभागिता जनाउँदै सभापति देउवाले सन् १८१६ को सुगौली सन्धीले नेपालको पश्चिमी सिमाना महाकाली नदी कायम गरेको ऐतिहासिक तथ्य अनुसार त्यसपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएकाले भारतीय सेना फिर्ता हुनु पर्ने बताएका हुन् । नेपाली भूभागमाथिको अतिक्रमण ठाडै अस्वीकार्य हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


भारतले अहिले अतिक्रमण गरेका भूभाग नेपालका भएकाले त्यसलाई फिर्ता ल्याउनका लागि सरकारले भारत र चीन दुबै देशसँग संवाद गर्नुपर्ने उनले बताए । उनले भने, ‘नेपाल सरकारले दुवै राष्ट्रसँग यस बारे संवाद गर्नु पर्छ र प्रष्ट भन्नु पर्छ— लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो । यस माथिको अतिक्रमण हामीलाई ठाडै अस्वीकार्य छ ।’

उनले सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङमा सहमति गरेपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा सरकारले दुबै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर असहमति प्रकट गरेको स्मरण गरे । बैठकमा देउवाले सरकारलाई केवल वक्तव्य वाजीमा मात्र नअल्मलिएर कुटनैतिक र राजनैतिक रूपमा उच्च स्तरमा सार्थक एवं परिणाममुखी पहल कदमी गर्न आग्रह गरे ।

भारतले नेपाली भूभाग कालापानी हुँदै चीनको धार्मिक स्थल मानसरोवर जोड्ने रोड गत शुक्रबार उद्घाटन गरेपछि नेपाल–भारत सीमा विवाद उत्कर्षमा पुगेको छ । बुधबार मात्रै सरकारले कालापानी क्षेत्रको सुरक्षाका लागि छाङ्रुमा बोर्डर आउट पोष्ट (बीओपी) राखेको छ । जहाँ २५ जना सशस्त्र प्रहरीको टोली रहेको छ ।

पूर्वप्रधानमन्त्री देउवाले नेपालका लागि अहिलेसम्ममै सबै भन्दा ठूलो सहयोग राशी सम्बन्धी अमेरिकी सरकारसँग अघिल्लो सरकारले गरेको सम्झौता, एमसीसीलाई यो सरकारले अगाडि बढाउनु पर्ने बताए । साथै उनले उनले देशको समृद्धि, कोरोना विरुद्धको संघर्ष र लिपुलेक लगायतको राष्ट्रियताको विषयमा सरकारले चाल्ने सबै सकारात्मक कदममा नेपाली कांग्रेसको समर्थन रहने उनले प्रतिवद्धता जनाए ।