काठमाडौँ – गुल्मीका ४१ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक विज्ञप्ति निकाल्दै संक्रमित पुरुषको मृत्यु भएको जनाएका छन् ।


ADVERTISEMENT


मन्त्री बरालका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गरेका उनको बिहीबार निधन भएको हो । गम्भीर अवस्थामा रहेका उनको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।


ADVERTISEMENT

# # #


अनेकौं प्रयास गर्दा पनि बचाउन नसकिएको भन्दै मन्त्री बरालले संक्रमितको निधनपति दुःख व्यक्त गरेका छन् । ‘क्रिमसन अस्पतालमा उपचाररत शिक्षकको बिहीबार बिहान दुखद् निधन भएको छ । उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकेकोमा निकै दुःखी छौं,’ मन्त्री बरालको विज्ञप्तिमा भनिएको छ, ‘कङ्गे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहनुभएका उहाँको निभनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको छ ।’

यसअघि बुधबार बिहान पनि संक्रमितको निधन भयो भनेर हल्ला फैलिएको थियो । तर, पछि अस्पतालले विज्ञप्ती जारी गर्दै उनको निधन भएको समाचार भ्रामक र अतिरञ्जित भनेको थियो । यद्यपी उनको अवस्था भने गम्भीर रहेको र भेन्टीलेटरमा राखेर उपचार भइरहेको अस्पतालले स्पष्ट पारेको थियो ।

गुल्मीको मदाने गाउँ पालिकाका वडा नं. ६ का संक्रमित पुरुष गत जेठ १ गते ज्वरो आएको, टाउको दुख्ने समस्या देखिएपछि क्रिमसन अस्पतालमा भर्ना भएका थिए ।

जेठ २ गते नै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो भने जेठ ५ गते (सोमबार) कोरोना रिर्पोट पोजेटिभ आएको थियो ।