काठमाडौँ –प्रहरीले स्वास्थ्य मन्त्रालयका विभिन्न पदहरुमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरी अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलीले बिहीबार काठमाण्डौंको तारकेश्वर नगरपालिका वडा नं. ३ बस्ने राजकुमार चापागाईलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनी पेप्सीकोलाबाट सम्झना के.सी भट्टराईसंग १ लाख २० हजार रुपैयाँ ठगी गर्दा रंगेहात पक्राउ परेका हुन् । प्रहरीका अनुसार ४५ वर्षीय चापागाईंले आफूलाई सशस्त्र प्रहरी नायव उपरीक्षक बताउँदै विभिन्न व्यक्तिहरुलाई स्वास्थ्य मन्त्रालयको खरिदार , रिसेप्सनिष्ट, सहायक लेखापालजस्ता पदमा जागिर लगाइलिदन्छु भन्दै पटकपटक ठगी गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रहरीले उनका साथबाट एक थान उनको फोटो टाँसिएको राम बहादुर थापा नामको सशस्त्र प्रहरी नायव उपरीक्षकको नक्कली परिचय पत्र, एक थान
खरिदार पदको नक्कली परिचय पत्र, एउटा बा ९० प ९५५५ नम्बरको कालो रङको स्कुटर, एउटा नोकिया मोबाइल, ३ वटा सिमकार्ड र विभिन्न व्यक्तिहरुको पासपोर्ट साईजको फोटोहरु बरामद गरेको छ ।

उनले यसअघि पनि वि.सं २०७२ असारमा निलिमा महर्जन र आकृती डंगोलसंग प्रतिव्यक्ति २ लाखको दरले जम्मा ४ लाख ठगी गरेको कसूरमा नख्खु कारागारमा ४ वर्ष कैद भुक्तान गरेको खुलेको प्रहरीले जनाएको छ । यस्तै उनले खोटाङ ऐसेलुखर्क बाकाचौलकी मुना पाण्डेलाई जागिर लगाई दिन्छु भनी पटक–पटक गरी २ लाख ठगेका थिए ।

उनले विभिन्न समयमा आफुलाई उच्च अधिकृत, विभिन्न उच्चपदस्थ अधिकारीहरुको पि.ए.भनी कारागार तथा सीडीओ कार्यालयहरुमा फोन गरी कैदीहरुलाई रिहा गर्न आदेश दिएको, विभिन्न व्यक्तिलाई धम्क्याउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले आर्मी स्कुलमा बच्चा भर्ना गराई दिन्छु, सवारी चालक अनुमती पत्र बनाई दिन्छु भन्दै प्रलोभनमा पारेर समेत ठगी गरेको प्रहरीका भनाई छ ।