काठमाडौं –  लगातार राहत वितरण गर्दै आएका बाफल काठमाडौंका ताराबहादुर कुँवरले अरुलाई पनि हौसला मिलोस् भनेर राहत वितरण गर्दा फोटो खिचेको बताएका छन् । आज आफ्नै घरमा उपस्थित भएकालाई राहत वितरण गर्दै उनले फोटो खिच्दा केही आलोचना भएको भए पनि त्यो चर्चाका लागि नगरिएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष, चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता र हजुरलाई टेड लिंकका सञ्चालक समेत रहेका कुँवरले प्रत्येक शनिबार राहत वितरण गर्दै आएका छन् । सुरुका दिनमा चामल, दाल, नुन, चिनी र अन्य आवश्यकीय सामग्री वितरण गर्दै आएका उनले आज ८० परिवारलाई चामल उपलव्ध गराएका छन् । उनले आफ्नो क्षेत्रभित्र कोही पनि खान नपाउने अवस्था सिर्जना हुन नदिने प्रतिवद्धता जनाएका छन् ।


ADVERTISEMENT

# # #


आज वरपर रहेका स्थानीय मजदुर, सुत्केरी भएर खाद्य संकटमा परेका र रोजगार गुमाएर अलपत्र परेका लगायतको सहभागिता थियो । कुँवरले लकडाउनका कारण सबै संकटमा परेको हुँदा मानवीय धर्म भएकाले राहत वितरण गरिएको जनाए ।

आफ्नो व्यवसायसँगै सधैं सामाजिक सेवामा अग्रसर कुँवरले आफूले पनि धेरै दुःख गरेर सामान्य जीवन धान्ने अवस्थामा आइपुगेकाले त्यो दुःख नबिर्सेको बताउँछन् । उनले आफुलाई धेर भएर चामल नबाँडेको पनि प्रतिक्रिया दिएका छन् । उनी यो असहज अवस्थामा एकले अर्कालाई सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका छन् । उनले अहिलेसम्म ५ सयभन्दा बढीलाई राहत वितरण गरिसकेका छन् ।

उनले अर्को शनिबार पनि राहत वितरण गर्ने जनाएका छन् । उनले लकडाउनभर सेवा गरिरहने बताएका छन् । आजको कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरसहित यस कार्यमा सहयोग गर्नेको उपस्थिति रहेको थियो । कुँवरले आफ्नो एकल प्रयासबाट सधैं सहयोग गर्न नसके पनि सहयोगी हातसँग पनि समन्वय गरेको स्पष्ट पारेका छन् ।