पोखरा — कास्कीका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको छ भने एक जना बेपत्ता छन् । सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको छ ।


ADVERTISEMENT


पोखरा–१८ सराङकोट गोठादीमा बिहीबार राति साढे २ बजेतिर खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, टंकबहादुरका दाजुका नाति ६ वर्षीय सुवान थापा र ११ वर्षकी इसिका थापा छन् । अर्का एक बालकको सनाखत भइनसकेको कास्की प्रहरीका डीएसपी सुवास हमालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पहिरोमा टंकबहादुरका छोरीहरू २२ वर्षीया पिंकी र १८ वर्षीया आशा तथा पिंकीकी ५ वर्षीया छोरी पिरिसा घाइते भएका छन् ।

यसैगरी तनहुँको दमौली घर भएकी सोममायाकी २८ वर्षीया बहिनी सरस्वती श्रेष्ठ पनि घाइते छिन् । उनका १० र ८ वर्षका दुई छोरा पनि पहिरोमा परेका छन् । घाइते हुने अन्यमा छिमेकी १९ वर्षीय अनिश तामाङ, रसी थापा, रश्मि थापामगर छन् ।

पोखरा–२६ पैतेडाँडामा पनि पहिरोल घर पुर्दा स्थानीय दुर्गाबहादुर सुनार बेपत्ता छन् । ब्लकले बनेको दुईकोठे घरसँगै पुरिएका उनका पत्नी, एक छोरा र एक छोरीको उद्धार गरिएको छ । त्यहाँ अहिले पनि पहिरो जाने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।त्यसै गरी कालिमाटी र फुस्रे खोलाबीचमा खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।