काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ५ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा पर्साका ३ जना, सिरहा र सर्लाहीका १–१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुषको साउन २२ गते दिउँसो ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको छ । उनी मधुमेह, उच्च रक्तचाप बिरामी थिए ।


ADVERTISEMENT

# # #


यस्तै वीरगञ्जकै वडा नं. ११ श्रीपुर बस्ने ७९ वर्षीय एक पुरुषको साउन २० गते राती घरमै मृत्यु भएको छ । मृत्यु पश्चात नमूना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको छ । वीरगञ्ज श्रीपुरमै बस्ने ५७ वर्षका एक पुरुषको पनि साउन २२ गते गण्डक कोभिड अस्पतालमा मृत्यु भएको छ । उनमा मधुमेह, उच्च रक्तचाप र मुटुको रोग थियो । स्वाब परीक्षण गर्दा उनमा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै सिरहाको गोलबजार नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीय एक पुरुषको साउन २२ गते राती विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । मिर्गौलाका बिरामी उनी डायलासिस गराइरहेका थिए र उनलाई जनकपुरबाट विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो ।

यस्तै सर्लाहीको बसन्तपुर स्थायी घर भएका ४५ वर्षीय साउन २३ गते बिहान पाटन अस्पतालमा मृत्यु भएको छ ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या २२ हजार २१४ रहेको छ । आज मात्रै ४६४ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १५ हजार ८१४ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ४४६ जना उपचार पछि निको भएका छन् ।