लन्डन । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले निधन भए पछि विदेशमा मृत्यु हुने नेपालीको संख्यामा वृद्धि भएको हो । शनिवार साँझसम्म नेपाल सहित विश्वभर २ सय ६४ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाले जानकारी दिनुभयो ।


ADVERTISEMENT


गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता प्राप्त तथ्यांक अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, कतार, साउदी अरेवियामा रहेका नेपालीहरुमा नयाँ संक्रमण देखिएको छ । स्वास्थ्य समितिका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरब लगायतका देशमा कोरोना संक्रमणको दरमा उल्लेख्य रुपमा कमी आएको छ । यो साता अष्ट्रेलियामा रहेका १४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीहरुमा सामूहिक रुपमा देखिएको कोरोना संक्रमितहरु संक्रमणमुक्त हुँदै गएको छ । समितिका अनुसार लग्जेम्वर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्वर्गमा थप संक्रमण देखिएको छैन् ।

विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ । ती मध्य १४ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ ।

विदेशमा अलपत्र परेका ४६ हजार ३१२ जनाको उद्धार

विदेशमा अलपत्र परेका ४६ हजार ३१२ जनाको उद्धार गरिएको छ । कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट हालसम्म उनीहरुको उद्धार गरिएको हो ।

उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५ सय १ जनाको उद्धार गरिएको छ । साउदी अरेबियाबाट ६ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ७९४, कुवेतबाट ६ हजार ३२९ र कतारबाट ५ हजार २५१ जनाको उद्धार भएको छ । अफगानिस्तानबाट ३३, ओमानबाट ६ सय ३६, म्यानमारबाट २६, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ७ सय २०, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९,सिंगापुरबाट २ सय ९७, हंङकंङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ८०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७, चीनबाट २ सय आठ, टर्कीबाट १ सय १० जना स्वदेश फर्किएका छन् ।

फिलिपिन्सबाट २ सय १ जना, स्वीट्जरल्याण्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट २ सय ५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८ जना, श्रीलंकाबाट ५ जना जापानबाट १ हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडान मार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको संख्या एकिन छैन ।

२४६ जनाको शव नेपाल ल्याइयो
विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४९४ जनाको मध्ये अझै अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।