काठमाडौं – मलेसियाले स्थानीय श्रम बजारमा श्रमिककोे अभाव भएपछि रिहायरिङ अर्थात पुनः भर्नाका माध्यमबाट विदेशी कामदार भर्ना गर्न पाउने  निर्णय गरेको छ । कोभिड–१९ संक्रमणपछि यस वर्षका लागि नयाँ विदेशी कामदार भर्नाका लागि एप्रुभल नदिने निर्णय गरेको मलेसियाले आफ्नो पुरानो निर्णयमा लचकता ल्याउँदै स्वदेशी कामदार नपाएको अवस्थामा मलेसियामा रहेका विदेशी कामदारलाई रोजगारमा भर्ना गर्न पाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


 

यसअघि मलेसिया सरकारले निर्माण, कृषि र प्लान्टेसन गरी प्रमुख तीन क्षेत्रमा मात्र विदेशी कामदार प्रयोग गर्न पाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि आफुहरुलाई गम्भीर असर परेको भन्दै त्यहाँका मझौला तथा साना उद्योगका रोजगादाताहरुले विरोध गरेका थिए । उनीहरुको विरोधपछि मलेसिया सरकारले पुरानो निर्णयमा केही परिवर्तन गरेको हो ।


ADVERTISEMENT

# # #


मलेसियामा कोरोना भाइरस संक्रमणपछि उद्योगहरुले विदेशी कामदार कटौतीको निर्णय लिँदै उनीहरुलाई लामो तथा छोटो अवधिको बेतलवी बिदा दिएका थिए । अब शुरु हुने रिहायरिङ प्रक्रियामा उनीहरुले मौका पाउने बताइएको छ ।

 

मलेसियाका मानव संशाधन मन्त्री एम साराभानन्ले रोजगारदाताहरुले पहिलो प्राथमिमकता भने स्वदेशी कामदारहरुलाई नै दिनुपर्ने बताएका छन् । रोजगारदाताहरुले विज्ञापनमार्फत स्थानीयको आवेदन माग गर्नुपर्ने उनीहरुको पर्याप्त आवेदन नपरेमात्र मलेसियामा वैधानिकरुपमा रहेका विदेशी कामदारलाई भर्ना गर्न सक्ने मन्त्री रासाभान्को भनाइ छ ।

मलेसियाको श्रम बजारमा २० लाख विदेशी कामदार चाहिने आँकलन गरिएको छ । त्यसमा कृषि, निर्माण र प्लान्टेसनको क्षेत्रका ८ लाख ३७ हजार ८ सय, उत्पादन क्षेत्रमा ७ लाख, सेवा क्षेत्रमा ३ लाख ९ हजार र घरेलु सहायकको क्षेत्रमा काम गर्ने १ लाख ३० हजार विदेशी कामदार रहेका छन् । यसअघि कृषि, निर्माण र प्लान्टेसनको क्षेत्रमा मात्र विदेशी कामदार भर्ना गर्न छुट थियो ।