काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माओलीसँग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्रीले कतिपय संवैधानिक नियुक्तिहरु बारे विपक्षी दलको नेताका रूपमा देउवासँग परामर्श गरेका छन् । वार्ताको सुरुमै देउवाले प्रधानमन्त्री ओलीसँग खासगरी जरुरी महत्व तीनवटा विषय राखेका छन् ।


ADVERTISEMENT

# # #


पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा ठूलो जनधनको क्षती हुने गरी गएको पहिरोको जिम्मेवारी सरकारले लिनुपर्छ कि पर्दैन भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । ‘गाउँबासीले दश दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपुर्‍याउनु अत्यन्तै दुःखद भएको छ ।’ उनले भने, ‘यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन ?’ उनले देशभरका अन्य प्राकृतिक विपत्तिविरुद्ध सरकारको भुमिका सन्तोषजनक नदेखिएकाले व्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गरे ।

यस्तै देउवाले कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघेको र संक्रमण तीब्र गतिमा विस्तार भइरहेकाले बढ्दो चुनौती सामना गर्नसक्ने ढंगले कार्य गर्न सरकार समर्थ नभएको दाबी गरेका छन् । उनले कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर नभएको, आइसोलेसन र भेन्टिलेटर पर्याप्त व्यवस्था गर्न किन ढिलाई भएको भन्दै प्रश्न गरे

त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्नुपर्ने देउवाले बताए । निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पुर्वाग्रह बढी देखिएको उनको ठहर छ । पछिल्लो समय विश्वविद्यालयमा देखिएको समस्याहरुको समाधानका लागि अविलम्ब संवादका लागि ढिलाइ भएको भन्दै उनले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्रीसँगको भेटमा कांग्रेसबाट देउवाका साथमा केन्द्रीय सदस्य रमेश लेखक पनि उपिस्थत थिए भने सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए ।