काठमाडौँ – चुनाव हारेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रियसभा सदस्य बनेका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मनोनित भएसँगै गौतमलाई राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शपथ खुवाएका हुन् ।


ADVERTISEMENT


उनी सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित भएका हुन् । राष्ट्रपति भण्डारीले बिहीबार नेपालको संविधानको धारा ८६ को उपधारा २ को (ख) बमोजिम गौतमलाई मनोनित गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएसँगै राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रिय सभामा खाली रहेको थियो ।

उक्त रिक्त स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै दोहोर्‍याउन खोजेका थिए । त्यही अनुसार ६ महिना सांसद नहुँदा पनि खतिवडा मन्त्री बन्न पाएका थिए । तर, नेकपाको सचिवालय बैठकले वामदेवलाई पठाउने निर्णय गरेको थियो । नेकपाको निर्णय अनुसार सरकारले वामदेवलाई सिफारिस गरेको हो ।

गौतम २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका थिए । पराजित भएपनि उनले प्रतिनिधिसभामा जानका अनेक प्रयास गरेका थिए । जसअनुसार उनलेसुरुमा डोल्पाका नेकपा सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत आफू संसद प्रवेश गर्न खोजेका थिए । तर, बुढाले अनौपचारिक वचन दिएपनि राजीनामा दिन तयार भएनन् ।

यस्तै गौतमका लागि काठमाडौँ क्षेत्र नंं बाट निर्वाचित नेकपा सांसद रामवीर मानन्धर राजीनामा दिन तयार भएका थिए । तर, चौतर्फी विरोध भएपछि त्यहाँबाट पनि गौतमलाई प्रतिनिधिसभाको यात्रा तय गर्न सफल भएनन् । यस्तै उनलाई तत्कालीन पर्यठनमन्त्री रवीन्द्र अधिकारीको निधन पश्चात खालीको सिटका लागि उपनिर्वाचनमा उठाउने चर्चा भएको थियो । त्यहाँ पनि उनी सफल भएनन् ।

प्रतिनिधिसभामा जाने सम्भावना नरहेपछि गौतमले राष्ट्रियसभामा भएपनि आफू जान तयार भएको बताए । यघपी उनले आफू प्रधानमन्त्री बन्नका लागि मात्रै राष्ट्रियसभामा जाने बताएका थिए । त्यसका लागि संविधान संशोधन गर्नुपर्थ्यो । त्यसको विवाद नेकपाभित्रै उत्पन्न भएपछि उनी पछि हटेका थिए ।

नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला गौतमले पार्टीमा सहमति कायम गर्न सक्रिय भूमिका खेले । जसअनुसार नेकपा सचिवालय बैठकले उनलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन भएसँगै चुनाव हारेका गौतमले राष्ट्रिय सभाको ‘रेड कार्पेट’को यात्रा तय गरेका हुन् ।