बागलुङ – सामान्यतया सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम नसकिदै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन्।


ADVERTISEMENT


बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उनी उत्साहित बनेका छन्।


ADVERTISEMENT

# # #


खड्काले पाँच वर्षअघि झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा लगाएका थिए। गतवर्ष पाँच सात वटा रुखमा सुन्तला फले पनि अहिले झण्डै १५ रुखमा सुन्तला पाकेका छन्।

अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यशोधा र पोङ्कान भने एक महिनापछि पाक्नेछन्।

‘पोहोरपरार यही समयममा उन्सु मात्रै १५/२० केजी सुन्तला बिक्री गरेको थिएँ, अहिले यसको उत्पादन बढेको छ,’ खड्काले भने, ‘अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती विस्तार गरिनेछ।’

खड्काकाअनुसार बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा १०० दाना मात्रै लाग्ने गर्दछ । जुन प्रतिकिलो रु १५० मा विक्री हुने गरेको उनले बताए .

नेपालमा अधिकांश कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानी जातका सुन्तला लगाएका हुन्।

व्यावसायिक उत्पादन गर्न सके बेमौसमी सुन्तलाको मूल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काले बताए।

चालिस वर्षदेखि स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आएका खड्काले हालसम्म १४ प्रजातिका सुन्तलाका विरुवा लगाइसकेका छन्। उनीसँग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ। रासस