काठमाडौँ – प्रधानमन्त्री एवं सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नै गुटका ३ नेतालाई मन्त्री बनाउने गरी मन्त्रिपरिषद् पुनगर्ठन गरेपछि पार्टीभित्रै असहमतिका स्वरुहरु सुनिन थालेका छन् । बुधबार दिउँसो पार्टीका शीर्षनेताहरुलाई पत्तै नदिई मन्त्रिमण्डले पुनगर्ठन गरे, साँझ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिमण्डल हेरफेर गरेको सूचना सार्वजनिक भयो ।


ADVERTISEMENT


नयाँ मन्त्रिपरिषद्‍मा नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । पौडेलमाथि बिचौलिया दीपक भट्टसँग साँठगाँठ रहेको आरोप लाग्दै आएको छ । भट्टका दाजु सुशील भट्टलाई लगानी वोर्डको प्रमुख कार्यकारी निर्देशक नियुक्ति उनको नाम विवादमा आएको थियो भने यसअघि ललिता निवास जग्गा प्रकरणमा पनि उनी जोडिएका थिए । अर्थमन्त्रीको जिम्मेवारी यसअघि युवराज खतिवडालाई दिइएकोमा खतिवडाले ६ महिनाभित्र संसद सदस्य बन्न नसकेपछि राजीनामा दिएका थिए। खतिवडाको राजिनामा पछि प्रधानमन्त्रीले अर्थको जिम्मेवारी लिएकोमा शुरुमा उनलाई आफ्नै आर्थिक सल्लाहकारमा नियुक्त गरेकोमा पछि अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेका थिए ।


ADVERTISEMENT

# # #


नयाँ हेरफेर अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएको छ । प्रधानमन्त्री कार्यालयकाअनुसार पोखरेललाई उनकै रोजाईमा प्रधानमन्त्री कार्यालयमा तानिएको हो । उनको नेतृत्वमा रहेको जिम्मेवारी भने प्रधानमन्त्रीले आफूसँग राखेका छन् ।

यसैगरी यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ भने उनको ठाउँमा लिलानाथ श्रेष्ठलाई राखिएको छ ।

यस्तै सहरी विकासको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ ।

मन्त्रिपरिषद् पुनगर्ठनपछि प्रधानमन्त्री ओलीले सहमतिभन्दा बाहिर गएर आफ्नै गुटका नेताहरु ल्याएको आरोप अन्य नेताहरुको रहेको छ ।

मन्त्रिपरिषद् पुनर्गठनबारे एक महिनादेखि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच लगातार छलफल भएपनि अन्ततः प्रधानमन्त्री ओलीले प्रचण्डको सहमतिबिना आफ्नै मनमर्जीका साथ मन्त्रिमण्डल पुनगर्ठन गरेको भनी पूर्वमाओवादी खेमा रुष्ट छ । प्रचण्ड निकट स्रोतकाअनुसार दुई अध्यक्षबीच लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको थिएन । बुधवार साँझ प्रचण्डलाई पनि जानकारी नदिई राष्ट्रपति कार्यालयबाट मन्त्रिमण्डल पुनगर्ठनको सुचना सार्वजनिक भएको हो ।

झलनाथ खनाल र माधवकुमार नेपाललगायत सचिवालय सदस्यलाई बुधवार मन्त्रिमण्डले पुनगर्ठन हुने जानकारी समेत थिएन । राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सार्वजनिक भएपछि मात्र आफूहरुलाई झलनाथ खनाल खेमाका एक नेताले जानकारी दिए । उनले भने, ‘विगतको स्थायी कमिटी बैठक र त्यसबाट गठित कार्यदलको सुझावमा पार्टीको सहमतिमा सरकार सञ्चालन गर्ने भनिएकोमा प्रधानमन्त्रीले सचिवालयलाई कुनै पनि जानकारी नदिई मन्त्रिपरिषद पुनर्गठन गर्नुभयो ।’

यता माधव नेपाल पक्षले पनि प्रधानमन्त्रीले मनपरी गरेको आरोप लगाएको छ । नेपाल निकट स्रोतले नेपालले मन्त्रिमण्डल पुनगर्ठनको विषयमा प्रधानमन्त्री ओलीले मनपरी गरेको टिप्पणी गरेको बताए ।