डडेलधुरा – नेपाली काँग्रेसका युवा नेता नैनसिँह महरले विभिन्न कालखण्डबाट गुज्रिएर प्राप्त गणतन्त्र संकटमा परेको बताएका छन् । कानूनभन्दा माथि गएर लोकतान्त्रिक मूल्य मान्यता कुल्चिएर केपी ओली नेतृत्वको नेकपा सरकारले लोकतन्त्रलाई गम्भीर समस्यामा पारेको उनले बताएका हुन् ।


ADVERTISEMENT


डडेल्धुरा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारबाटै लोकतान्त्रिक मूल्य मान्यतामाथि प्रहार हुने गम्भिर चुनौती देखिएको बताए ।


ADVERTISEMENT

# # #


७ दशक लामो संघर्षबाट प्राप्त उपलब्धिलाई नेकपाले ३ वर्षमै संकटमा पारेको उनको आरोप थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यबहार भएको प्रसंग निकाल्दै उनले लोकतन्त्रका लागि जीवनभर लडेको यौद्धामाथि प्रहार हुने लोकतन्त्रकै उपहास भएको बताए । ‘सरकारले कहिले प्राध्यापक थुन्यो, कहिले चिकित्सकलाई अस्पतालबाटै उठायो, कहिले सांसद अपहरण गर्‍यो , हुँदाहुँदा एउटा वरिष्ठ राजनीतिककर्मीलाई पनि पक्राउ गरियो यो त लोकतन्त्रमाथि नै प्रहार हो,’ उनले बताए ।

नेकपाभित्रको शक्ति सशक्तिकरण र पार्टीगत लेनदेनको राजनीतिले मुलुकलाई बन्धक बनाएको ठहर महरको थियो । ‘मुलुक यस्तो संकटमा छ, जनता मरिरहेका छन्, तर यहाँ सरकारको नेतृत्व गरिरहेका कसैलाई कुर्सी चाहिएको छ कसैलाई जोगाउनुछ,’ उनले भने, ‘सत्ता स्वार्थका लागि एक भएका दुई कम्युनिष्ट पार्टीका कारण मुलुकले दुगर्ती व्यहोर्नु परेको छ।’