काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन तत्काल बोलाउन माग गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठकले संसद उक्त माग गरेको हो ।


ADVERTISEMENT


बैठकले मंगलबार राष्ट्रपतिमार्फत सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको मर्म र भावना विपरीत रहेको ठहर समेत गरेको छ । संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको बैठकको निष्कर्ष छ ।


ADVERTISEMENT

# # #


संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेश पश्चात् कुनै पनि निर्णय भएको या गरिने दुवै स्थितिमा नेपाली कांग्रेसलाई सो मान्य नहुने चेतावनी दिंदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमिति बैठक पुस ३ गते बिहान ११ बजे बोलाउने निर्णय समेत बैठकले गरेको छ ।

सरकारको सर्वसत्तावाद, तनहुँमा नेता रामचन्द्र पौडेल माथि भएको दुर्व्यवहार, कोभिडविरुद्ध सरकारको अकर्मण्यता र भ्रष्टाचारविरुद्ध कांग्रेसले गरेको मंसिर २९ गतेको देशव्यापी प्रदर्शनले व्यापक जनअभिमत प्रकट गरेको निष्कर्ष समेत बैठकले निकालेको छ ।

यस्तै उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब किसानलाई चुक्ता गर्न, गराउन आवश्यक पहल र समन्वयका लागि कांग्रेसले सरकारसँग माग गरेको छ ।