प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का प्रशासन महाशाखा निर्देशक रमेश कुमार बखतीसंग हिमालयपोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


आजकाल केमा व्यस्त हुनुहुन्छ ?
अब मुलूक संघीयतामा गएकाले सीटीईभीटीलाई पनि कसरी संघीय तरिकाबाट लैजाने भनेर सरोकारवाला तथा विज्ञहरुसंग सल्लाह गरिरहेका छौँ । सीटीईभीटीलाई स्थानीय, प्रदेश र केन्द्रिय स्तरमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा हामी छलफलमा व्यस्त छौँ ।


ADVERTISEMENT

# # #


देशमा सीटीईभीटीको आवश्यकता किन भएको हो ? कस्तो खालको संस्था हो यो ?

प्राविधिक शिक्षा व्यावसायिक शिक्षा भनेको राज्यको अग्रगामी विकासको लागि अपरिहार्य शिक्षा हो । जुनसुकै देशलाई समृद्ध र समुन्नतीको बाटोमा लैजानका लागि प्राविधिक शिक्षाको जरुरत पर्दछ । बढीभन्दा बढी जनतालाई प्राविधिक तथा व्यावसायिक गतिविधिमा समाहित गर्न सकियो भने मात्रै देशको विकास हुन्छ । त्यसै अनुरुपको आधारभूत मध्यमस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सीटीईभीटी)को स्थापना गरिएको हो । प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् नीति २०१२ ले यसमा बढीभन्दा बढी जनताको पहुँच पुर्याउनका लागि देशका मेचिदेखि महाकालीसम्म विस्तार गर्ने, पहुँचमा नभएकालाई पहुँच पुर्याउने उद्देश्यले विभिन्न किसिमका समावेशी कोटाहरु पनि हामीले तोकेका छौँ ।

अर्को भनेको पढ्नका लागि पैसा तिर्न सक्नेले तिर्ने र नसक्नेलाई छात्रवृद्धिको पनि व्यवस्था गरेका छौँ र विशेष गरी आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पनि प्राविधिक शिक्षामा समाहित गर्नका लागि हामीले यस्ता कार्यक्रम ल्याएका छौँ ।

सीटीइभीटीले के कस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ? तिनको अध्ययन अध्यापन कसरी गरिन्छ ? बताइदिनुस् न ।

हाम्रो सीटीइभीटी अन्तर्गत एउटा व्यावसायिक तालिम छ । जुन ३९० घण्टा देखि करिब १६९६ घण्टासम्मका रहेको छ । त्यसलाई पेसागत तालिम भन्छौँ । अहिले चारवटा विषयमा सुरुवात गरिसकेका छौँ । हाम्रो पूर्वकमैया, हलिया तथा लोपन्मुख जातीहरुलाई लक्षित गरेर हामीले कार्यक्रम ल्याएका छौँ । यो वर्ष २८० जनालाई व्यावसायिक कुक, कारपेन्टर, पलम्बर र कोहेल्पर भनेर हामीले चारवटा कोर्स सुरुवात गरेका छौँ । आगामी वर्षका लागि हामीले बिल्डिङ इलेक्ट्रीसियन र मोटर साइकल मेकानिकल कोर्स पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ ।

सीटीइभीटीको अर्को कार्यक्रम भनेको पहिले हमी प्रविधिक एसएलसी (टीएसएलसी) दुई चरणको थियो । त्यसमा एसएलसी फेल हुनेलाई २९ महिने र पास हुनेलाई १५ महिने र अनमी १८ महिने गरेर दुई तरिकाको कार्यक्रम थिए । ग्रेडिङ सिस्टम (एसइइ) आइसकेपछि त्यसलाई हामीले १८ महिने कोर्समा परिणत गरेका छौँ । एसएलसी पास गरेकाहरु त्यो कोर्स सकेपछि टीएसइइ हुन्छन् । अर्को भनेको तीन वर्षे डिप्लोमा हो । यो स्वास्थ्य, कृर्षि, इन्जिनियरिङ र अन्य विषय भनेको होटेल म्यानेजमेन्टमा समेत हामीले यी कार्यक्रमहरु सञ्चालन गरेका छौँ । टीएसइइमा हेल्थ पढ्नका लागि एसइइमा स्वास्थ्य विज्ञानमा सी, कृर्षि, इन्जिनियरिङ पढ्नका लागि कुनै दुई वटा विषयमा सी वा डी प्लस ल्याएपनि तीन वर्षे डिप्लोमा आउन सक्ने गरी सीटीइभीटीले सञ्चालन गरिरहेको छ ।

सीटीइभीटी अन्तर्गतका विषयहरु जुन तपाईले भन्नु भयो । ती विषयप्रति किन आर्कषण छ ? अरु शिक्षा र यसमा कस्तो अन्तर रहेको छ ?
यसमा प्रविधिक तथा व्यावसायिक तालिम अन्तर्गतका शिक्षा पढेपछि रोजगारीका अवसरहरु सहज पाईन्छ । अन्य शिक्षाको जस्तो रोजगारीको खोजिमा भौतारिरहनु पर्दैन । स्वरोजगार सिर्जना गरेर भएपनि यी विषय पढेकाले राम्रो आम्दानी गर्न सक्छन् । यो भनेको रोजगारीका लागि अरुको मुख ताकिरहनु पर्दैन । यो शिक्षाले रोजगारी प्रदानका साथै स्वरोजगार सिर्जना गर्नसक्ने क्षमताको अभिवृद्धि गर्न मदत पुर्याउँछ । जस कारण प्राविधिक तथा व्यावसायिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दो छ ।

यो शिक्षा हुँदाहुँदै पनि शैक्षिक बेरोजगार र युवा विदेश पलायनले नेपालर्ला गाँजेको छ । यी समस्याको समस्याका समाधानका लागि सीटीइभटीको भूमिका कस्तो रहन्छ ?

अवस्य पनि यी समस्याको समाधानका लागि सीटीइभीटीको पनि महत्वपूर्ण भूमिका रहन्छ । पहिले त व्यापारिक उद्योग बढेदै गयो भने बेरोजगारी घट्छ । प्राविधिक शिक्षाको तालिम लिएपछि रोजगारीको अवसर सिर्जना हुन्छ । र विदेश पलायनलाई केही हदसम्म रोक्न सकिन्छ । विश्वका वैदेशिक रोजगारीमा जाने प्रचलन त छ तर उनीहरु केही सीप सिकेर जान्छन् जसले गर्दा काम सजिलो हुनुका साथै सेवा सुविधा पनि बढी पाईन्छ ।

सीटीइभीटीले त समाजमा उपयोगी तथा दक्ष कामदारको उत्पादन गर्ने हो । यसबाट उत्पादन भएका जनशक्तिलाई काममा लगाउने वा रोजगारी प्रदान गर्ने काम राज्यले गर्नुपर्ने हुन्छ । तर पनि सीटीइभीटीबाट उत्पादन भएका कयौँ जनशक्ति जनशक्तिले स्वरोजगार सिर्जना गरेका छन् । हाम्रो काम भनेको त कसरी हुन्छ बजार अनुसारको समय सुहाउँदो दक्ष तथा सीपमुलक जनशक्तिको उत्पादन गर्ने हो । त्यसले गर्दा सहज रुपमा काम पाइनुका साथै स्वरोजगार सिर्जना गरेर बेरोजगार हटाउन यसले पनि सहयोग गर्छ ।

ती उत्पादित जनशक्तिलाई सीटीइभीटीले परिचालन गर्नका लागि पनि त सीटीइभीटीका कार्यक्रमहरु होलान् नि ?

रोजगारीको खोजिमा भौतारिरहेका हरुलाई परिचालन गर्नका लागि हामीले विभिन्न माध्यामबाट उहाँहरुलाई लाभान्वित गरिरहेका छौँ भने विदेशबाट केही सीप सिकेर आएकाहरुलाई उनीहरुले त्यहाँ सिकेका कुराहरुलाई यहाँ अरुलाई सिकाउनका लागि हामीले विभिन्न कार्यक्रम ल्याएका छौँ । राज्यले तिनिहरुलाई ऋण दिएर विभिन्न किसिमका व्यावसाय सञ्चालन गराउन सकिन्छ ।

देशमा अब राजनीतिक मुद्दाहरु सकिएर आर्थिक विकास गर्नु पर्छ भन्ने उठ्न थालेका छन् । राजनीतिक मुद्दाहरु किनारा लाग्यो पनि भनिन्छ । यो कार्यमा युवा जनशक्तिलाई विकासका क्षेत्रमा परिचालन गर्नका लागि सीटीइभीटीलाई पनि अझ शसक्त बनाउनु पर्ला । सीटीइभीटी अब कुन रुपमा अगाडी बढ्दैछ ?

अहिले हामीले ७५ वटै जिल्लाहरुमा सीटीइभीटीका कार्यक्रमहरु लैजाने भनेर कार्यको थालनी गरेका छौँ । मनाङबाहेक अन्य सबै जिल्लामा सीटीइभीटीका कार्यालय स्थापना भएका छन् । अहिले हामीले तीनवटा क्षेत्रीय कार्यालय एउटा पूर्वमा इटहरी क्षेत्रीय कार्यालय, मध्ये क्षेत्र भनेर हामीले चितवनमा राखेका छौँ भने पश्चिममा कोहलपुरमा हाम्रा क्षेत्रीय कार्यालयबाट पनि हाम्रा कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौँ । मैले अघि नै भनेँ, मुलूक संघीयतामा गएकाले सात वटै प्रदेशमा हाम्रा कार्यालयहरु स्थापना हुँदैछन् । त्यो अन्तर्गत बढी उद्योग भएका ठाउँहरुमा शाखा कार्यालय स्थापना हुँदैछन् ।

अन्त्यमा आम विद्यार्थीहरु जो व्यावसायिक तथा प्राविधिक शिक्षा पढिरहेका र पढ्न चाहन्छन् ती विद्यार्थीहरुलाई के भन्नुहुन्छ ?

म त के भन्छु भने सैद्धान्तिक शिक्षा मात्रै सिकेर देश विकास पनि हुँदैन र आफु पनि सक्षम भइँदैन । यसको लागि प्राविधिक शिक्षा नै आवश्यक हुन्छ । प्रयोगात्मक शिक्षा बढी प्रभावकारी हुने भएकाले यसका आवश्यकता जरुरी छ । जसले गर्दा आफुले सिकेका कुराहरु फिल्डमै गएर प्रयोग गरेर आफु तथा राष्ट्रलाई लाभ दिन सकिन्छ । जसको एउटा माध्यम भनेको सीटीइभीटी हो ।

सीटीइभीटीको स्तरोन्नतीका लागि राज्यले प्रशस्त मात्रामा लगानी गर्नुपर्छ । अहिले नेपालको बजेटको करिब करिब १० प्रतिशत शिक्षा क्षेत्रमा आउँछ । त्यसको २ प्रतिशत मात्रै प्राविधिक शिक्षामा लगानी हुन्छ । लगानी बढाएर गाउँगाउँमा यसको पहुँच विस्तार गर्न सकियो भने युवाहरु प्राविधिक तथा व्यावसायिक शिक्षाको माध्यामबाट देशलाई समृद्धिको बाटोमा लैजान सक्षम हुन्छन् ।