काठमाडौं– काठमाडौँ महानगरपालिकाले भोलिदेखि सप्ताहव्यापी रूपमा शहीद दिवसका कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रत्येक वर्ष मनाउँदै आएको साप्ताहिक शहिद दिवस यसपटक पनि भोलि माघ १० गतेदेखि शुरु भएर माघ १६ गतेसम्म मनाइनेछ ।

तालिका अनुसार, शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थान टेकु खरिबोटमा भोलि बिहान ८ः०० बजे श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी हुनेछ । त्यस्तै माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान, माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेका स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिनेछ ।


ADVERTISEMENT

# # #


सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात्, माघ १६ गते शान्तिबाटिकामा भेला भई नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र शहीदहरुको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ ।

गत वर्ष झैं यसपटक पनि शहीद सप्ताह मूल समारोह समितिका संयोजकको रूपमा कामपाको प्रमुख विद्यासुन्दर शाक्य रहेका छन् । मूल समारोह समितिको सदस्यको रुपमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चार शहीदले सहादत प्राप्त गरेका वडाका अध्यक्ष (क्रमशः वडा नं ७, १२, १५ र २६) रहेका छन् । त्यस्तै, कार्यक्रममा विभागीय प्रमुख, आयोजना तथा कार्यक्रम प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, गृह मन्त्रालय, नेपाल स्काउटका प्रतिनिधि समितिले समेत संलग्नता जनाएको छ । विसं २०१२ देखि काठमाडौँ नगरको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।

प्रजातन्त्र प्राप्तिका लागि विसं १९९७ मा काठमाडौँको विभिन्न स्थानमा सहादत प्राप्त गरेका चार शहीदको सम्झनामा कामपाले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ । त्यसैगरी कामपाले गएको वर्ष गङ्गालाल श्रेष्ठका नाममा सञ्चालनमा रहेको गङ्गालाल हृदयरोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि समेत सम्झौता गरेको छ ।

संयोजक शाक्यले बताएअनुसार, सप्ताहव्यापी कार्यक्रमका लागि सरसफाइको जिम्मेवारी वातावरण व्यवस्थापन विभागलाई दिइएको छ, भने सभा हुने स्थानको मर्मत सम्भार तथा रङरोगन गर्ने कामको जिम्मेवारी भौतिक पूर्वाधार विकास विभागलाई दिइएको छ । यसैगरि, कार्यक्रमस्थल तथा प्रभातफेरीको रुट व्यवस्थापनको जिम्मा भने नगर प्रहरी महाशाखालाई दिइएको छ । रासस

प्रतिकृया

प्रतिकृया