काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा विटन संविधान र लोकतन्त्रका विरुद्ध भयो भन्दै कराउनेहरु नै देश विरोधी रहेको जिकिर गरेका छन् ।


ADVERTISEMENT


आइतबार अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सवालबारेको साक्षात्कारमा बोल्दै प्रधानमन्त्री ओलीले देशमा अस्तव्यवस्ता खडा गर्ने, बहुमतको सरकार ढालेर जोडजामको सरकार बनाएर स्थिरताको नाटक गर्ने व्यक्तिका कारण संसद विघटनको अवस्था आएको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘संसद विघटन अलोकतान्त्रिक भयो, असंवैधानिक भयो भनेर कराईरहेका छन् । ती कराउने मान्छेहरु संविधान विरोधी, लोकतन्त्रविरोधी, देश विरोधी, जनविरोधी मान्छेहरु हुन् ।’ पाँचै वर्ष सांसद बन्न पाउनु पर्छ भन्नेलाई प्रश्न गर्नै उनले भने, ‘संसद भनेको जागिर हो ? यो स्थायी जागिर हो ?’ उनले सांसदहरुले जनताको सेवा गर्नुपर्ने, देशको सेवा गर्नुपर्ने ठाउँमा अरुद्वारा निर्देशित, अरुको इशारामा, अरुका लागि काम गर्ने भएपछि, स्थिरतालाई भत्काएर अस्थिरता तर्फ मुलुकलाई धकेल्न खोजेपछि संसद विटन गरेको बताए ।

संसद विघटन गरे प्रधानमन्त्री तानाशाह भएको भन्नेहरुलाई जवाफ दिँदै उनले भने, ‘स्थिरताका लागि जनतामा ताजा जनादेशका लागि जानु…सांसदहरुको कामको मूल्यांकन र फैसला जनतामार्फत गराउँदा म तानाशाह भएँ ?’

उनले आउँदो वैशाखमा तय भएको निर्वाचनबारे कुनै अलमलमा नपर्न आग्रह गरे । आगामी निर्वाचनलाई देशको अहितमा निरन्तर काम गर्ने देशद्रोही तत्वलाई ठेगान लगाउने अवसरका रुपमा लिनुपर्ने उनले दाबी गरे ।

‘रोगविरुद्ध लड्न बलियो आत्मविश्वास जरुरी’ 

प्रधानमन्त्री ओलीले बलियो आत्मविश्वास भए जस्तोसुकै रोगलाई पनि परास्त गर्न सकिने बताएका छन् ।

आइतबार अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सवालबारेको साक्षात्कारमा बोल्दै प्रधानमन्त्री ओलीले दुईवटा मिर्गौला फेरेर आफू पनि एक किसिमले अपांग जस्तै भए पनि आत्मविश्वासका कारण सक्रिय रहेको बताए ।

‘म पनि अर्को किड्नीको ह्वीलचियर चढेरै हिंडेको मान्छे हुँ । त्यो पनि फेल भयो । फेरि अर्को किड्नी राखेर नयाँ किड्नीको वैशाखी टेकेरै हिंडेको मान्छे हुँ ।’ उनले भने, ‘आँखामा चस्मा लगाइन भने म पढ्न सक्दिँन । किड्नीले काम नगरे पनि अर्को लगाएर पनि बाँच्ने सकिन्छ भन्ने आत्मविश्वास मैँले लिएँ ।’

उनले दुई पटक मिर्गौला फेरेर प्रधानमन्त्री भएको व्यक्ति विश्वमा नै आफू मात्रै रहेको दाबी गरे । उनले भने, ‘सायद यो पनि रेकर्ड होला, दुईवटा किड्नी फेरेको व्यक्ति विश्वमा कहीँ पनि प्रधानमन्त्री छैन ।’ दुईवटा मिर्गौला फेरे पनि आफूले गाली नगरेर, लाठी लिएर नलखेटेर पनि देश बिगार्न खोज्ने तत्वहरु, जनताका लागि अहित गर्न खोज्नेहरु, जनताको शासन मास्न खोस्ने, लोकतन्त्रविरोधी तत्वहरु आफूदेखि डरले भागीभागी हिंडेको उनले जिकिर गरे ।

सरकार अपांगता भएका व्यक्तिहरुको साथमा रहेको बताउँदै उनले अपांगता भयौँ भन्दैमा हरेस नखान आग्रह गरे । देश गरिब भए पनि आफ्ना नागरिकको हेरविचार गर्ने कुरामा कुनै कमी नराख्ने पनि उनले प्रतिवद्धता जनाए ।

उनले अपांगता होइनौँ भन्ने ठूलाठूला व्यक्तिहरु मानसिक रुपमा सबैभन्दा बढी अपांग रहेको उनले बताए । उनले भने, ‘त्यो अपांगता डरलाग्दो छ । देख्दा ठिक्क देखिने, तर भित्रभित्रै…।’