काठमाडौँ – सरकारले आज शुभारम्भ गरिएको कोभिड–१९ विरुद्धको खोपमा उत्साहजनक सहभागिता भएको बताएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै खोप कार्यक्रममा सबै खोप केन्द्रमा उत्साहजनक सहभागिताले खोपप्रतिको विश्वास र अभियानको सफलता स्पष्ट दर्शाएको बताएका छन्


ADVERTISEMENT

# # #


आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड–१९ विरुद्धको खोप कोभिशिल्डको शुभारम्भ गरेका थिए। आज दिउँसो १ बजेसम्म प्रदेश नं १ मा १२७, प्रदेश नं २ मा ५४०, वाग्मती प्रदेशमा एक हजार दुई, गण्डकी प्रदेशमा ३०६, लुम्बिनी प्रदेशमा २२३, कर्णाली प्रदेशमा ३९८ र सुदूरपश्चिम प्रदेशमा ३०५ गरी कूल दुई हजार ९०१ जनाले खोप लगाएका छन् ।

प्रवक्ता प्रा डा गौतमले अहिलेसम्म कुनै अवाञ्छित घटना नभएको बताए । खोप कार्यक्रम अभियान देशभरिका ३०० खोप केन्द्रबाट स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपक्तिमा खटिने सेवा प्रदायकलाई १० दिनभित्र खोप दिइने छ । पहिलो चरणको खोप कार्यक्रमअन्तर्गत चार लाख ३० हजार जनालाई लगाउने लक्ष्य मन्त्रालयको छ ।

बुधबार बालुवाटारमा भर्चुअल विधिबाट कोभिड–१९ विरुद्ध खोपको शुभारम्भपश्चात सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

यस्तै आज मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा अर्चना श्रेष्ठले कोभिशिल्ड खोपको प्रभावकारिता ६२ प्रतिशत रहेका र कुनै समस्या नगर्ने भएकाले ढुक्क भएर खोप लगाउन सबैसँग आग्रह गरिन्।

अहिले विश्वमा ९५ वटा खोप विकासको चरणमा र दुई वटा खोपले मान्यता पाइसकेका तथा आठ वटा खोप विभिन्न मुलुकले आकस्मिक प्रयोगका लागि प्रयोग गरिसकेका छन् । कोभिशिल्ड खोप २४ हजारमा परीक्षण गरिएको थियो । जसमध्ये १२ हजार ३१ ले खोप लगाएका थिए । जसमा हजारमा सात जनामा मात्र स्वास्थ्य समस्या देखिएको थियो । यो खोपको कारणले स्वास्थ्य समस्या नगण्य रुपमा देखिएको अध्ययनले देखाएको छ । खोप लगाएर कसैको पनि निधन नभएको सहप्रध्यापक डा श्रेष्ठले बताइन् ।

खोप शुभारम्भ कार्यक्रमअन्तर्गत खोप बाकस स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

ब्राजिल, दक्षिण अफ्रिका र अमेरिकामा भएको अनुसन्धानले खोप प्रभावकारिता ६२ प्रतिशत देखिएको छ । आठ हजार ८९५ जना अध्ययनमा भाग लिँदा चार हजार ४५५ लाई खोपजस्तै सुई मात्र दिएको थियो । त्यसमा हजारमा १६ लाई सङ्क्रमण देखिएको थियो भने चार हजार ४४० लाई खोप दिँदा जम्मा हजारमा छ जनालाई खोप सङ्क्रमण देखिएको अध्ययनले देखाएको डा श्रेष्ठले बताइन् ।

कोभिड–१९ खोप अभियानअन्तर्गत बुुधबार शुुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउँदै चिकित्सक ।

त्रिशूली अस्पताल नुवाकोटका चिकित्सक त्रिशूली अस्पतालमा स्थापना गरिएको खोप केन्द्र’ मा कोरोनाविरुद्धको खोप लगाउँदै ।

जिल्ला अस्पताल लमजुङको बेँसीशहरमा बुधबार चिकित्सक शरण लिम्बुलाई कोभिडविरुद्धको खोप लगाउँदै अस्पतालका स्वास्थ्यकर्मी निर्मला खडका ।

मध्यपुर थिमिस्थित कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा बुधबार कोभिडविरुद्धको खोप लगाउँदै स्वास्थ्यकर्मी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बुधबार सेती प्रादेशिक अस्पतालमा कोभिड–१९ विरुद्धको प्रथम चरणको खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरी अभियानको शुभारम्भ गर्दै ।

सबै तस्बिर : रासस