– वृत्तान्त पाण्डे/विनम्र पाण्डे


ADVERTISEMENT


प्रत्येक वर्ष फेब्रुअरीमा विश्वव्यापी रूपमा इन्टरनेटको उचित प्रयोगका लागि प्रत्साहित गर्न ‘सुरक्षित इन्टरनेट दिवस’ मनाउने गरिन्छ । यस वर्ष पनि हाम्रो देशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसै सन्दर्भमा हामीले इन्टरनेट प्रयोगको हाम्रो अनुभव यहाँ समेट्ने प्रयास गरेका छौं ।


ADVERTISEMENT

# # #


इन्टरनेट भनेको सूचना, समाचार र ज्ञान आदान प्रदानका लागि विद्युतको माध्यमबाट गरिने एक विश्वव्यापी सञ्चार नेटवर्क हो । इन्टरनेटले गर्दा नै एक ठाउँबाट अर्को ठाउँमा, एक व्यक्तिबाट अर्को व्यक्तिमा सम्पर्क गर्न सजिलो भएको छ। कार्यालयको काममा र घरमा पनि सजिलो भएको छ ।

इन्टरनेटको प्रयोग गर्दा हामीले कम्प्युटर, ट्याब, मोबाइल, ल्यापटप आदि प्रयोग गर्छौ । इन्टरनेटले गर्दा नै हामीले विश्वमा घटेका घटना सजिलोसँग थाहा पाउन सक्छौँ । विश्वका जुन सुकै ठाउँमा भएका आफन्तसँग कुराकानी गर्न सक्छौं। इन्टरनेटले गर्दा नै हिजोसम्म असम्भव भनेको काम अहिले सम्भव भएको छ।

इन्टरनेट प्रयोग गर्दा हामीले आफूलाई आवश्यक पर्ने कुरामा मात्र प्रयोग गर्‍यौँ, हेर्‍यौँ भने समयको बचत हुन्छ । अनावश्यक रुपमा रमाइलोको लागि ‘गेम’ खेलेर, सिरियल हेरेर बस्यौँ भने समय पनि खेर जान्छ, आँखा, टाउको पनि दुख्छ । त्यसैले यसलाई सही ठाउँमा प्रयोग गर्न जानेनौँ भने हामी सुरक्षित हुँदैनौँ ।

लामो समयदेखि कोभिड–१९ ले गर्दा हामी घरमा नै बसेका छौँ । त्यसैले दिन बिताउन गाह्रो भएर हामीले बाबा आमाको मोबाइलबाट साथीहरुसँग गेम खेल्न थालेका थियौं । तर, पछि आमा र दिदीले हामीलाई ‘गेम नखेल, बरु हाजिरी जवाफ गर’ भन्नुभयो । हामीले केही समय कापीमा गुगलबाट खोजेर प्रश्नहरू बनाएर आमा र दिदीसँग हाजिरी जवाफ गरेर समय बिताउन थाल्यौँ। पछि फेरि आमाले कहुटबाट हाजिरी जवाफ गर्न सिकाउनु भयो । हामी दुई दाजुभाई मिलेर फेसबुकको माध्यमबाट हाजिरी जवाफ गर्‍यौँ । हाजिरी जवाफ गर्न हामी दुई दाजुभाई मिलेर गुगलबाट प्रश्न उत्तर खोज्ने, त्यसलाई ‘सेभ’ गर्ने, आफै गर्न थाल्यौँ । यसो गर्दा हामी टिभी हेर्ने र ‘गेम’ खेल्नेमा भन्दा यसमा रमाउन थाल्यौँ । अहिले हामी प्रश्न उत्तर खोज्ने, त्यसलाई ‘सेभ’ गर्नेदेखि कम्प्युटरका स-साना काममा आमा बाबालाई सहयोग गर्न सक्छौं । त्यसैले इन्टरनेटलाई सही तरिकाले प्रयोग गर्न जानेमा हाम्रो समयको सदुपयोग मात्रै हुँदैन, बौद्धिक क्षमता पनि बढ्छ।

अहिले हामी बुढानिलकण्ठ स्कूलमा कक्षा पाँचमा पढ्छौं। कोभिड–१९ ले गर्दा स्कूल जान पाएका छैनौँ । हाम्रो पढाई इन्टरनेटले गर्दा नै अनलाइन माध्यमबाट भइरहेको छ। हामीले राम्रोसँग पढ्न पाएका छौँ । यदि इन्टरनेट नभएको भए हामी त्यसै घरमा बसेर समय बिताउनु पर्थ्यो । हाम्रो स्कुलको काठमाडौँ भन्दा बाहिर धेरै साथीहरु हुनुहुन्छ। तर, पनि स्कुलले इन्टरनेटको माध्यमबाट पढ्ने व्यवस्था गरेको हुनाले सबैजना अनलाइन कक्षामा आउनु हुन्छ । कुनै पनि कक्षाको पढाई छुटेको छैन । त्यसैले सहरमा मात्र होइन गाउँ गाउँमा पनि कम्प्युटर र इन्टरनेट भएमा सबैलाई सजिलो हुन्छ ।