जुम्ला– कर्णाली राजमार्ग सडकमा निर्माण भएका घरटहरा भत्काउन थालिएका छन् । सडक डिभिजन कार्यालयले सडकमा निर्मित संरचना भत्काउन स्थानीयवासीलाई जानकारी दिएपछि सडक चौडा बनाउनका लागि स्थानीयवासीले धमाधम सडकमा निर्माण भएका संरचना भत्काउन थालेका हुन् ।


ADVERTISEMENT


जुम्ला कालिकोटको सिमानामा रहेको नाग्मबजारवासीले सडकमै जथाभावी निर्माण गरिएका घरटहरा भत्काउन थालेका छन् । कार्यालयको सो योजनाले सबैलाई फाइदा पुग्ने भएकाले त्यस्ता संरचना हटाउन आफुहरु लागिपरेको स्थानीयको भनाई छ ।


ADVERTISEMENT

# # #


सडक चौडा गर्नका लागि राजमार्गमा निर्माण भएका संचरनालाई भत्काउने जानकारी दिएपछि स्थानीयवासीले आफ्नो घरटहरा भत्काउन सहमत भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारी बताउँछन् । जुम्ला, कालिकोट र मुगुको ट्रान्जिट प्वाइन्ट नाग्मबजार भएकाले यहाँको विकास अनिवार्य छ ।

सो बजारको दीर्घकालीन विकासका लागि चौडा सडक बनाउन थालिएको हो । ‘यस ठाउँमा जनघनत्व बढ्दै जानु र सडक साँघुरो हुँदा जोखिम बढेको छ । जोखिम कम गर्न र व्यवस्थित बजार निर्माणका लागि चौडा सडक बन्न थालेको हो ; उनले भने ।

सडक चौडा बनाउन कालिकोटका निवर्तमान प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र बजार व्यवस्थापन समितिका पदाधिकारीबीच समन्वय भएको थियो । सोही सहमतिअनुसार स्थानीयवासी आफ्ना घरटहरा भत्काउन राजी भएका हुन् । सडकको मध्यभागदेखि साढे सात/सात मिटर दायाँबाँया सडक चौडा बनाउने उद्देश्यका साथ निर्माण भएका भौतिक संरचना भत्काउन थालिएको डिभिजन भण्डारीले बताए ।

उनी भन्छन्; ‘कालिकोटको तिलागुफा नगरपालिका १ मा पर्ने तीन जिल्ला जोड्ने केन्द्रविन्दु नाग्मबजार कालिकोट र जुम्लाको सीमावर्ती क्षेत्र पनि हो । कर्णाली राजमार्गको कालिकोट, जुम्ला र जुम्लाको सिंजा हुँदै मुगुको केन्द्रविन्दु पनि नाग्मबजार नै हो । यो बजारमा जथाभावी भौतिक संरचना निर्माण हुँदा सडक साँघुरो हुदैँ गएको थियो । साँघुरो सडकमा निर्माण सामग्री थुपार्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि सडक चौडा बनाउन नाग्मवासीले आफैँले निर्माण गरेका भौतिक संरचना भत्काउन थालेका हुन् ।’

भौतिक संरचना भत्काइसकेपछि ३ सय मिटर लम्बाइ र १० मिटर चौडाइ सडक कालोपत्र गर्ने तयारी शुरु भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सो बजारको सडक चौडा बनाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाबाट रु एक करोड १७ लाख बजेट विनियोजन भएको छ ।

सडकको एक साइडमा ढल निकासका लागि नाला पनि निर्माण गरिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । रासस