पाटन– नख्खु कारागारमा २ सयभन्दा माथि मानसिक रोगी कैदीबन्दी रहेका छन् । कारागार प्रशासनका अनुसार, सामान्यदेखि जटिल मानसिक रोग गरी सोे कारागारमा मात्रै २ सय ६० मानसिक बन्दि अवस्थामा रहेका हुन् ।


ADVERTISEMENT


सो बिरामीलाई कारागारभित्र नै आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ ।


ADVERTISEMENT

# # #


कारागारमा हाल एक हजार ५ सय भन्दा बढी कैदीबन्दी छन् । तीमध्ये २ सय ६० जनामा मानसिक समस्या देखिएको कार्यालय प्रमुख मोहन अधिकारीले बताएका छन् । त्यस्ता समस्या भएका कैदीबन्दीको स्वास्थ्यलाई मध्यनजर गरी महिनाको तीनपटक कारागारमै उपचार सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको उनले बताए ।

‘जटिल मानसिक समस्या भएका कैदीबन्दीलाई मानसिक अस्पताल लगनखेलमा उपचार गराउँछौँ । कारागारका एक कैदीबन्दीलाई हाल लगनखेलको मानसिक अस्पतालमा उपचार गराइरहेका छौँ ; उनले भने ।

त्यस्ता बिरामीको उपचारका लागि कारागारभित्र ‘मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल’ भवनको निर्माण सम्पन्न भइसकेको छ । तर आवश्यक चिकित्सक र सरसामनको व्यवस्था नहुँदा ती भवनबाट सेवा उपलब्ध गराउन नसकेको प्रमुख अधिकारीको भनाइ छ । ‘कारागार नजिकै मानसिक अस्पताल लगनखेल रहेको हुँदा विभिन्न जिल्लाका कारागारमा रहेका मानसिक रोगी कैदीबन्दीलाई कारागार व्यवस्थापन विभागले यहाँ सरुवा गरी पठाउँछ; उनले स्पष्ट पारे ।

उनका अनुसार, सरकारी अस्पतालमा उपचार गर्न जाने जुनसुकै रोगका कैदीबन्दीले निःशुल्क उपचार पाउँछन् भने निजी अस्पतालमा उपचार गर्न इच्छा देखाउने कैदीबन्दीले आफ्नो खर्च आफैँ व्यहोर्नुपर्छ ।

कारागारभित्रका बन्दी अस्पतालमा १५ शैय्या रहने क्षमता भए पनि २० शैय्या राखिने भएको उनको भनाइ छ । नेपालमा मानसिक रोग अध्ययन र उपचार गर्ने चिकित्सक सङ्ख्या कम रहेको हुँदा कारागारमा आवश्यक पर्ने १० औँ तहको चिकित्सकको व्यवस्था हुन सकेको छैन । सो कारागारमा कैदीबन्दी राख्न तीन ब्लक भवनको व्यवस्था गरिएको छ । त्यस्तै, कारागारको बहिरङ्ग सेवामा दैनिक तीन चिकित्सकले लगभग ३० देखि ४० कैदीबन्दीलाई उपचार सेवा दिने गरेका बताइएको छ ।

नख्खु कारागारका एक हजार २ सय ९७ कैदीबन्दी, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई कोरोनाको खोप दिइएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल बताउँछन् । रासस