तनहुँ– व्यासनगर जेसिआइको लगानीमा दमौली अस्पताल जाने चोकमा जेसिआइ धारा निर्माण भइरहेको छ । दमौलीमा सार्वजनिक धारा नहुँदा पैदलयात्रीलाई पानी पिउन समस्या सास्ती खेप्नु परेपछि धारा निर्माण थालिएको हो ।
जेसिआइ पूर्वयोजनाअनुरुप खानेपानीको धारा निर्माण गरिएको व्यासनगर जेसिआइका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिए । योजना गरिएको भन्दा बढी खर्च हुने देखिएको बताउँदै उनले भने; ‘करिब रु. तीन लाख लाग्ने अनुमान गरिएको छ ।’
शुरुमा रु. डेढ÷दुई लाखकोअनुमानसहित निर्माण थालिए पनि अहिले काम गर्दै जाँदा खर्च बढ्न गएको उनले बताए । जेसिआइ समाजमा गएर सामाजिक कार्यमा उत्तरदायित्व बहन गर्ने संस्था रहेको बताउँदै उनले भन; ‘दमौली बजार क्षेत्रमा एउटा पनि सार्वजनिक धारा नदेखेपछि धारा निर्माण गर्ने निर्णयअनुरुप काम थालिएको हो ।’
भक्तपुरबाट कलात्मक किसिमको धारा ल्याउँदा मात्रै रु. ४५ हजार खर्च भएको जनाइएको छ । धारा निर्माणमा कसैको सहयोग नरहेको र सबै जेसिआइका पदाधिकारीको सहयोगमा निर्माण गर्न लागिएको उनले बताए । दमौली अस्पताल नजिक रहेको सार्वजनिक शौचालय माथि दुई ट्याङ्की राखिएको छ । रासस