सङ्खुवासभा– मकालु गाउँपालिका ५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीको जानकारी अनुसार, मृत्यु हुनेमा मकालु ३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेका छन् ।


ADVERTISEMENT


खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिएको थियो । ठक्करबाट राईकी श्रीमती प्रेमकुमारी समेत गम्भीर घाइते भएकी छिन् । राई राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् भने उनकी श्रीमती सोही विद्यालयकी बाल शिक्षिका हुन् ।


ADVERTISEMENT

# # #


मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका ६ का ३० वर्षीय सुवास चौलागाईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

राई श्रीमान्/श्रीमती दुवै गाउँपालिका केन्द्रको नुममा तालीममा सहभागी हुन आउँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते प्रेम कुमारीको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लग्ने तयारी भइरहेको शिक्षक हित कार्कीले बताए।

अहिले स्थानीयवासीले खाँदबारी किमाथाङ्का सडकखण्डको फ्याक्सिन्दा बेँसीमा सडक अवरुद्धसमेत पारेका छन् । रासस