फुङ्लिङ– गए राति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जनाए ।


ADVERTISEMENT


उनका अनुसार, त्यहाँ शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ । उक्त स्थानमा हाल करिब एक फिटसम्म हिउँ जमेको छ । ‘सबैतिर सिसाजस्तै हिउँ जमेको छ; उनले भने । पानीका मुहान सबै जमेपछि खानेपानीसमेत समस्या परेको उनले बताए । उनी भन्छन्; ‘चिसोका कारणले घर बाहिर निस्किनै सकिँदैन । घरभित्र आगो तापेर बस्नुपर्छ । यसबाट जनजीवन निकै प्रभावित भएको छ ।’


ADVERTISEMENT

# # #


घुन्सागाउँ समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्दछ । यस्तै, समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला र समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा याङमा गाउँ पर्दछ । यस बस्तीमा शुक्रबार बेलुकीदेखि अहिलेसम्म बाक्लो हिउँ परिरहेको फक्ताङलुङ गाउँपालिका ६ निवासी मनुकुमार राईले बताए । हिमाली क्षेत्रका समुदाय हिमपातले प्रत्यक्ष प्रभावित भएको छ ।

सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनमा हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीयवासी कमल राईले बताए । मिक्वाखोला गाउँपालिका पापुङ क्षेत्रमा पनि शुक्रबारदेखि आज रातभरि हिमपात भएको छ ।

ताप्लेजुङ जिल्ला हिउँले सेत्याम्य भएको छ । ताप्लेजुङमा आजको बिहानको मौसम न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । रासस