चितवन– पूर्वसांसद एकनाथ रानाभाटको पवित्र तीर्थस्थल देवघाटमा आज अन्त्येष्टि गरिएको छ । उपचारका क्रममा उनको सोमबार ६६ वर्षको उमेरमा निधन भएको थियो ।


ADVERTISEMENT


रत्ननगर नगरपालिका १४ पिठुवा निवासी उनलाई उच्च रक्तचापका कारण मष्तिष्काघात भएपछि गत माघ २६ गते चितवन मेडिकल कलेज भर्ना गरिएको थियो । उपचारका क्रममा सोही अस्पतालमा उनको निधन भएको हो ।


ADVERTISEMENT

# # #


मृतक रानाभाटको अन्त्येष्टिमा देवघाटस्थित नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलालगायत कांग्रेसका नेता तथा कार्यकर्ता, नेपाल कम्युनिष्ट पार्टी, राप्रपालगायतका पार्टीका जिल्लाका विभिन्न तह र तप्काका नेता एवं निवर्तमान सांसदको उपस्थिति भएका थिए ।

अन्त्येष्टि पूर्व रानाभाटको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

वि.सं २०५६ सालमा चितवन क्षेत्र नं २ बाट उनी प्रतिनिधिसभामा निर्वाचित भएका थिए । विसं २००९ साल कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा जन्मिएका उनले आफ्नो कार्यकालमा कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्ष लगायतका विभिन्न पदभार सम्हालेका थिए ।

उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । रासस