बनेपा– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले महिलालाई स्कुटर चलाउने तालीम प्रदान गरेको छ । सीप प्रदान गर्ने उद्देश्यले नगरपालिकाले स्कुटर चलाउने तालीम सञ्चालन गरेको हो ।


ADVERTISEMENT


तालीममा महिला जनप्रतिनिधि सहित विभिन्न संस्थाका ४२ जनाको सहभागिता रहेको छ । नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले स्कुटर सिकेपछि चालक अनुमतिपत्र प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने जानकारी दिए ।


ADVERTISEMENT

# # #


नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगतका दिनमा नगरपालिकाले पूर्वाधार निर्माणको काम अघि बढाइएकामा अब सीप विकासमा जोड दिएको बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सीप हासिल गरेपछि महिलामाथि हुने गरेको हेपाइमा कमी आउने विश्वास व्यक्त गरे ।

तालीम यही चैत १६ गतेसम्म सञ्चालन हुने महिला तथा बालबालिका शाखाप्रमुख तारादेवी सुनुवारले बताए । नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्नाका साथै उद्यमी र आत्मनिर्भर बनाउन विभिन्न अन्तरक्रिया, तालीम र गोष्ठी जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यसअघि नगरपालिकाले सीप विकासअन्तर्गत ३० महिलालाई व्यवसाय सञ्चालन गरेर आर्थिक उपार्जनमा लाग्नका लागि लप्सीको परिकार बनाउने तालीम दिएको थियो । रासस