बागलुङ– नगरपालिका–८ सिगानाले गाउँलाई पर्यटनमैत्री बनाउने अभियान शुरु गरेको छ । गाउँमा आउने आन्तरिक र बाह्य पर्यटकलाई गाउँ/टोलको परिचय दिने गरी वडा कार्यालयले अभियान शुरु गरेको हो ।


ADVERTISEMENT


यसका लागि कार्यलयले ५० स्थानमा सूचना बोर्ड समेत राखेको छ । गाउँमा आएका मान्छेलाई फरक फरक विशेषता र पहिचान बोकको टोल, बस्ती चिनाउन वडाभित्रका टोल, विद्यालय र स्वास्थ्य चौकी गरी ५० स्थानमा सूचना बोर्ड राखेको बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जिसीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


‘स्थानीयवासीलाई गाउँ/टोलका विषयमा जानकारी नै छ, तर आगन्तुक पाहुना र पर्यटकलाई अन्योलता पैदा भएको वडा कार्यालयले महसुस गर्‍यो; उनले भने; ‘पर्यटनको विकास गर्ने भनेका छौँ, गाउँको परिचय नदिँदा आएका पर्यटक समस्यामा पर्ने रहेछन्, सूचना बोर्डले म यो स्थानमा रहेछुभन्दा अब कसैलाई सोध्न पर्दैन ।’

वडा कार्यालयले आर्थिक वर्ष २०७७/७८ छुट्याएको रु. दुई लाख बजेटमा सूचना बोर्ड निर्माण गरेर ५० स्थानमा राखिएको छ । फलामको पोलमा फलामको पाता प्रयोग गरी राखिएको सूचना बोर्ड निकै टिकाउ र सुरक्षित हुने वडा कार्यालयले जनाएको छ । सुन्तला गाउँका रुपमा परिचय पाएको सिगानामा पछिल्लो समय अवलोकन र भ्रमणका लागि आउने आगन्तुकको उपस्थिति बढ्दो मात्रामा छ ।

बागलुङ नगरपालिकाले सिगानाको बौडेचौरलाई पर्यटकीय गन्तव्य बनाउने गरी योजना अगाडि बढाएको छ । सिगाना वडा कार्यालयले सिगानामा पर्यटक भित्र्याउने सिगानाको पर्यटकीय क्षेत्र मेटिएको डकुमेन्ट्रीसमेत वडा कार्यालयले निर्माण गरी सार्वजनिक गरिसकेको छ । सिगाना आउने पर्यटकलाई गाउँ चिनाउनका लागि सूचना बोर्ड राखिएको हो ।

सिगानाको तल्लो भेगमा सुन्तला र उपल्लो भेगमा चिया बगान बनाउने लक्ष्यका साथ बागलुङ नगरपालिकाले विभिन्न अनुदानका योजनासमेत ल्याएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । अहिले सुन्तला बगान हेर्न आन्तरिक पर्यटक र विभिन्न जिल्लाका कृषकहरु सिगाना आउन थालेपछि गाउँ/टोल चिनाउन सूचना बोर्ड राखिएको हो ।

वडा कार्यालयले वडा कार्यालयको सीमा शुरु हुने काठेखोला पुलमा वडाका सम्पूर्ण जानकारी सहितको ठूलो सूचना बोर्डसमेत राख्ने तयारी भइरहेको छ । उक्त बोर्डमा सिगानाको पर्यटकीयस्थल, खेतीयोग्य जमीनलगायत जानकारी दिइनेछ । रासस