काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । उनले अब पनि निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरेका छन् ।
यादवले शंका गर्नुभन्दा पनि निर्वाचनलाई कसरी स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सकिन्छ भनेर सबैले सोच्नुपर्ने बेला आएको भन्दै यतातर्फ सोच्न आग्रह गरे ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो टोलीसँग ललितपुरस्थित आफ्नै निवासमा कुराकानी गर्दै प्रमुख आयुक्त यादवले निर्वाचन हुनेमा अब शंका नगर्न आग्रह गरेका हुन् । उनले भने,‘निर्वाचनप्रति अब कुनैपनि किसिमको शंका राख्नुहुँदैन, बरु शंका त स्वतन्त्र, स्वच्छ निर्वाचन कसरी गर्ने भन्नेबारे गर्नुपर्यो, तपाईहरुले पनि अब दबाबमुलक कार्यक्रमलाई निरन्तरता दिनुहोस्, घरदैलोको रुपमा अघि बढ्नुहोस्।’


ADVERTISEMENT

# # #


यादवले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पनि अझै उत्कृष्ट रुपमा सम्पन्न निर्वाचन आयोग दृढ संकल्प र आत्मविश्वस्त रहेको जनाए ।

हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवासँग तिहारको शुभकामना आदान–प्रदान गर्ने कार्यक्रममा निर्वाचन सफल बनाउने बारेमा पनि विशेष कुराकानी भएको उल्लेख गर्दै उनले भने,‘तिहारको शुभकामना आदानप्रदानसँगै हामीबीच निर्वाचन सफल बनाउनेबारे पनि छलफल भयो, उहाँले विश्वस्त पार्नुभयो कि सरकारको तर्फबाट जस्तोसुकै सहयोग गर्नपनि म तयार छु भन्नुभयो, सोही प्रतिबद्धतासहित हामी पनि बढिरहेको छौं, निर्वाचन सफल रुपमा सम्पन्न हुन्छ ।’

उनले प्रधानमन्त्री देउवाले आयोगलाई कुनै समस्या नपर्ने बताउँदै निर्भिक भएर अघि बढ्न आग्रह गरेको समेत जानकारी दिए । उनले थपे,‘प्रधानमन्त्रीज्यूले हामीलाई सबै किसिमको सहयोग गर्न तयार छौं भन्नुभएको छ ।’
आयोगले प्रधानमन्त्री मात्रै नभएर सरकारका मन्त्रीहरू, विभिन्न दलका नेताहरूसँग पनि भेटघाट गर्न पाउने भन्दै यादवले थपे,‘परामर्श जोसँग पनि गर्छौं, प्रधानमन्त्रीलाई भेट्दैमा निर्वाचनमा असर पर्छ भनेर आशंका नगर्नुहोस्।’

निर्वाचन आचारसंहिता पालना गर्ने कुरा नैतिकताको कुरा भएकोले सबैले पालना गरिरहेको आफूहरूले पाएको उनले जनाए । ‘कुनै ठाउँमा जानी नजानी भएको भए हामी कारबाही गर्छौं, गरेका पनि छौं, हामी त जनताका सिपाही हौँ, मिडियाले पनि हेर्नुपर्यो, हामीलाई जानकारी गराउनुहोस्, आचारसंहिता उल्लंघन गर्नेलाई कुनैपनि किसिमको छुट हुँदैन ।’