भारतीय व्यवसायीको अपहरणमा संलग्न भएको आरोप ३ जनालाईसप्तरी प्रहरीले पक्राउ गरेको छ । अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले कंचनरुप ४ का अमरनाथ बिश्वास, वडा नम्बर ७ का पशुपति भनिने पुस्कर महतो तथा वडा नम्बर ६ का शैलेन्द्रकुमार गुप्तालाई २ थान नलकटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले हिजो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । सोही पत्रकार सम्मेलनमा अपहरणमुक्त भएका ब्यापारी शारदालाई समेत परिवारको जिम्मा लगाईएको छ । प्रहरीले अपहरणमा प्रयोग भएको भारतीय नम्बर प्लेटको कार समेत नियन्त्रणमा लिएको छ । सप्तरीको कन्चनरुप नगरपालिकावाट एक साताअघि अपहरणमा परेका भारतीय कपडा ब्यापारी अमित शारदालाई प्रहरीले गएराती सकुशल मुक्त गराएको थियो । अपहरणकारीले शारदालाई कंचनरुप–१२ स्थित अम्बरबहादुर मगरको घरमा बन्धक वनाएर राखेको सूचनाका आधारमा उनलाई मुक्त गराइएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिनुभयो । ब्यापारी शारदाको अपहरण फिरौती असुलीकै लागि गरिएको प्रारम्भिक अनुसन्धानवाट देखिएको एसपी सिंहले बताउनुभयो । ३ करोड फिरौती माग गर्ने र आएको रकम आफुहरुले बाँड्ने योजना अपहरणकारीको रहेको प्रहरी अनुसन्धानवाट खुलेको छ । – आजको कान्तिपुरबाट


ADVERTISEMENT