काठमाडौँ – कोरोनाको दोस्रो लहर शुरु भएपछि सरकारले विद्यालय लगायतका क्षेत्र बन्द गरी स्वास्थ्य मापदण्डमा कडाइ गरेको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिदै गएपछि लकडाउन पनि शुरु भएको छ भने सरकारले पनि आवश्यक परे लकडाउन गर्ने तयारी गरिरहेको बताएको छ ।


ADVERTISEMENT


तर यस विषयमा निजी क्षेत्रको भने लकडाउन गर्नै नहुने एकै स्वर रहेको छ । सरकारले पहिले जस्तो कडा लकडाउन नहुने बताइरहेपनि निजी क्षेत्र भने फेरि लकडाउन हुने हो कि भन्ने त्रासमा छ ।


ADVERTISEMENT

# # #


स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेर कोरोनासँग जुध्नुपर्ने बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लकडाउन समस्याको समाधान नभएको बताउँछन् । ‘अघिल्लो वर्षको लकडाउनले अर्थतन्त्र तहसनहस बनाएको छ, लाखौँको संख्यामा बेरोजगारी बढेको छ,’ उनले भने, ‘फेरि लकडाउन गर्नु भनेको अर्थतन्त्र ठप्प पार्नु हो, यसबाट समाधान हुने नभई समस्या थपिन्छ ।’ उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल सरकारले बनाएको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताए ।

यस्तै नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष सतिश मोर पनि लकडाउन गर्न नहुने बताउँछन् । भिडभाड नगरी स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उनले बताए । ‘लकडाउन समाधान होइन, विकल्पहरु अपनाउनुपर्छ ।’ सरकार लकडाउनतर्फ नभई स्वास्थ्य मापदण्ड पालना गराउन कडाइका साथ लाग्नुपर्ने उनको भनाइ छ ।

यसैगरी नेपाल चेम्बर अफ कमर्शका निर्वतमान अध्यक्ष राजेशकाजी श्रेष्ठ लकडाउनबारे सोच्न समेत नहुने बताउँछन् । अघिल्लो वर्षको महामारीबाट धेरै कुरा सिकिसेको र यससँग कसरी जुध्न सकिन्छ भनेर थाहा भइसकेकाले त्यसैअनुसार जुध्नुपर्ने उनको भनाइ छ । ‘स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नतर्फ लाग्नुपर्छ,’ उनले भने, ‘लकडाउनबारे सोच्न हुँदैन, यसले अर्थतन्त्र तहसनहस बनाउँछ ।’