काठमाडौं – शुक्रबार नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले पार्टीका केन्द्रीय कमिटीका नेताहरुलाई विभिन्न जिम्मेवारी दियो । यद्दपी उक्त जिम्मेवारीलाई लिएर पार्टीभित्रै चरम असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् ।


ADVERTISEMENT


नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीको नजिक रहेर काम गर्दै आएकी पूर्व राज्यमन्त्री भगवती चौधरीले पनि जिम्मेवारी बाँडफाँडबारे असन्तुष्टि जनाएकी छन् । उनले पार्टीमा त्याग र इमान्दारिताका साथ काम गर्नेहरुको मूल्याङ्कन हुन नसकेको भन्दै असन्तुष्टि जनाएकी हुन् ।


ADVERTISEMENT

# # #


‘पार्टीमा इमान्दारिता, नैतिकता र वर्षौंदेखि त्याग गर्नेहरुको भूमिका हुँदोरहनेछ । दुई दुई वटा निर्वाचनमा षड्यन्त्रपूर्वक हारेपनि मैंले पार्टीको सिद्धान्तलाई कहिल्लै लत्याउने काम गरिन । पार्टी र जनताका लागि नै आफुलाई समर्पित गर्छु भनेर बस्दा मेरो मुल्याङकन भएन ।’ नेतृ चौधरीले भनिन् ।

‘पार्टी प्रति पुरै असन्तुष्टि त हैन, तर नेतृत्वले मलाई न्याय गर्न सकेन कि भन्ने भान भयो ।’ चौधरी भन्छिन्–‘अढाई दशक देखि निष्ठाको राजनीति गर्दैछु, पार्टीले उचित मुल्यांकन गरेनकि जस्तो लाग्यो ।’

पार्टीको लागि त्याग गर्ने क्षमतावान् र इमान्दार नेताहरुलाई जिम्मेवारी नदिएर चाकडी, आसेपासे, अवसरवादी, राजनीतिक इमान नभएकाहरुलाई अगाडि बढाउँदा त्यसको क्षति सिंगो पार्टी र जनताले समेत भोग्नुपर्ने भन्दै उनले असन्तुष्टि जनाएकी छन् ।

को हुन् चौधरी ?

सुनसरी क्षेत्र नं. ३ की भगवती चौधरी संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत हुन्। उनी जति केन्द्रमा लोकप्रिय छिन्, त्यो भन्दा धेरै स्थानीय स्तरमा क्रियाशील छिन् । नेपाली कांग्रेसका नेता विजय गच्छदारसंग पटकपटक निर्वाचन लडेकी उनलाई सुनसरीकी विकासवादी नेतृ भनेर चिनिन्छ ।

पूर्वी तराईका क्षेत्रमा उनले महिलाको आर्थिक शसक्तिकरणका लागि विभिन्न समयमा अभियान चलाउँदै आएकी छन् । फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तिय संस्था, फरवार्ड नेपाल मार्फत देशभरका अढाई लाख महिलालाई स्वरोजगार सिर्जना गर्न उनले महत्वपूर्ण भूमिका खेल्दै आएकी छन् ।