जाजरकोट– अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जिल्ला अस्पतालमा प्रयोगमा आउन सकेको छैन ।


ADVERTISEMENT


दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगविहिन अवस्थामा रहेको हो ।


ADVERTISEMENT

# # #


खरिद गरेको समयदेखि अहिलेसम्म बन्द कोठामा राख्नेबाहेक अरु काम नभएको स्वास्थ्य सेवा कार्यालयका कर्मचारीको भनाई छ । यस्तै, प्रदेश सरकारको मातहतमा रहेको अस्पतालमा सामग्री भएर पनि प्रयोगमा आउन नसक्नु दुःखद भएको चिकित्सक बताउँछन् ।

असामान्य खालका बिरामीलाई उपचार गर्न प्रयोग हुने भेन्टिलेटर सेवा जाजरकोट अस्पतालमा ल्याएदेखि प्रयोगमा आउन नसक्नु दुःखद् भएको जुनिचाँदेका रेशमबहादुर खड्काले बताए । नयाँ भवन निर्माण हुँदै गरेको र राख्ने ठाउँको अभावकै कारण सञ्चालनमा ल्याउन नसकेको अर्का स्वास्थ्य सेवा कार्यालयका टिकाराम जैशीले जनाएका छन् । उनी भन्छन्, ‘प्रदेश सरकारले हामीलाई कर्मचारी पठाउँछौँ भनेर जानकारी आएको छ, सायद छिट्टै हुन्छ होला’, उनले भने ।

त्यस्तै, एचडीयू सेवाका लागि जिल्ला अस्पतालमा आएको सामग्री ठाउँ अभावका कारण जोड्न नसकिएको उनको भनाई छ । उनका अनुसार, पच्चीसमध्ये अहिलेसम्म १५ वटा मात्र जोडिएको जैशीको भनाइ छ । जिल्ला अस्पतालमा २५ वटा अक्सिजन सिलिण्डर भए पनि अघिल्लो वर्ष खरिद गर्नुपर्ने अक्सिजन प्लान्ट अहिलेको आर्थिक वर्षको अन्तिममा आएर काम शुरु गर्दा बिरामीले सुविधा पाउन मुस्किल भएको छ ।

प्लान्ट खरिद गर्नका लागि सम्झौता मात्र भएको तर कहिले जिल्ला अस्पतालमा पुग्ने हो, त्यसको कुनै समय नभएको अस्पताल प्रशासनले बताएको छ । कोरोना महामारीको समयमा २०० भन्दा बढी बिरामी भए पनि ठाउँ अभावका कारण अस्पतालमा उपचार हुनसकेको छैन । जिल्ला अस्पतालमा १० चिकित्सक भए पनि सामग्री खरिदका लागि नेतृत्वले इच्छाशक्ति नदेखाउँदा हैरान भएको स्वास्थ्यकर्मी बताउँछन् ।

कोरोना सङ्क्रमितलाई राख्नका लागि प्रत्येक पालिकाले कम्तीमा १० देखि १५ शय्यासम्मको क्वारेन्टिन बनाउने निर्णय भए पनि स्थानीय तहले त्यसको कार्यान्वयन गरेका छैनन् । भारत वा अन्य मुलुकबाट आएका सर्वसाधारण सिधै घर जाने गरेका छन् । भेरी नगरपालिका–२ मा भारतबाट आएका सर्वसाधारण बिरामी हुँदा व्यवस्थापनमा समस्या आएको छ । रासस