काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता नवीन्द्रराज जोशीको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो नोक्सान पुगेको बताएका छन् ।


ADVERTISEMENT


पूर्वउद्योगमन्त्री जोशीको ४५औँ पुन्यतिथिका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘श्रद्धाञ्जलिसभा’मा उहाँले जोशीको निधनले देशले होनहार र उदीयमान नेता गुमाएको बताएको हो ।


ADVERTISEMENT

# # #


उक्त अवसरमा उनले भनेका छन्, ‘लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र कांग्रेसभित्र खड्किनेछ ।’ उनले पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताका घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने मन्तव्यसमेत व्यक्त गरेका थिए ।

नेता पौडेलले उद्योगमन्त्री हुँदा जोशीले बन्द हुन लागेका उदयपुर सिमेन्ट उद्योग, हेटौँडा सिमेन्ट उद्योग र औषधि व्यवस्था विभागलगायतमा कुशलतापूर्वक नेतृत्व गरेर पुनर्जीवन दिएको स्मरणसमेत गरे । बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको नेता पौडेलको भनाई छ ।

कांग्रेस नेता प्रकाशमान सिंहले जोशी पार्टीका नेता मात्र नभएर प्रजातान्त्रिक आन्दोलनको सशक्त व्यक्ति भएको बताए । ‘जोशी मूल्यमान्यता र आदर्शको राजनीतिमा अडिग र प्रतिकूल अवस्थामा नझुक्ने नेता हुनुहुन्थ्यो’, उनले भने । नेपाली कांग्रेस मात्र नभएर देशलाई नै नेतृत्व गर्ने क्षमता जोशीमा रहेको उनको भनाइ थियो ।

नेता सिंहले गणेशमान सिंहलाई जीवन्त राख्न जोशीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् । गणेशमान सिंह अध्ययन प्रतिष्ठानलाई निरन्तर रुपमा अगाडि बढाए मात्र उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले बताए ।

प्रतिष्ठानका उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले जोशीको निधनले पार्टी र देशले एक योग्य नेता गुमाएको बताए । जोशीको योजनानुसार नै प्रतिष्ठानलाई अगाडि बढाइने उनको भनाइ थियो । यस्तै, प्रतिष्ठानका सचिव डा भूपेन्द्र बस्नेतले जोशी इमान्दार र असल नेतृत्वकर्ता भएको बताएका छन्, भने प्रतिष्ठानका सदस्य एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा केदारभक्त माथेमाले जोशी युवा जोश भएको जाँगरिलो नेता भएको उल्लेख गरे ।

यस्तै, स्व. जोशीकी धर्मपत्नी सपना जोशीले नेता जोशी परिवारभन्दा पनि देश र जनतालाई माया गर्ने व्यक्ति भएको धारणा व्यक्त गरिन् । कांग्रेस नेता राजुराज जोशीले स्व जोशीको योगदान पार्टीले मूल्याङ्कन गर्नुपर्ने बताए । प्रजातन्त्रका लागि कोहीसँग नझुक्ने नेता जोशी भएको उनको भनाइ थियो । विसं २०१९ मा काठमाडौँमा जन्मनुभएका जोशीको विसं २०७७ चैत १३ गते नर्भिक अस्पताल थापाथलीमा निधन भएको थियो । रासस