काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरत्रबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माओलीले विश्वासको मत लिनुपर्ने अवस्था आउनुमा प्रधानमन्त्री आफै जिम्मेवार भएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले मागेको विश्वासको मतको बैठकमा सम्बोधन गर्दै देउवाले आफू अरुमाथि दोष थुपारेर आफू जिम्मेवारीबाट भाग्न खोज्ने प्रधानमन्त्री ओलीको चरित्रका कारण नै यो अवस्था आएको बताए ।


ADVERTISEMENT

# # #


प्रमुख प्रतिपक्षका रुपमा कांग्रेसले रचनात्मक र सहयोगी भूमिका निर्वाह गरेको बताउँदै उनले भने, ‘आफू कार्यकारी प्रमुख बन्ने अरुलाई दोष थोपर्ने ? अरुमाथि दोष र गुनासो थोपरेर प्रधानमन्त्री जिम्मेवारीबाट भाग्न पाउनु हुन्छ ? यो तीन वर्षमा सरकार पूर्णरुपमा असफल भएको छ ।’

उनले अघि भने, ‘छातीमा हात राखेर भन्नुस्, आफैले आफैलाई सोध्नुहोस्, यो अवस्था तपाईंकै कारण सिर्जना भएको होइन ? राजनीतिक दम्भका कारण सिर्जना भएको होइन ?’ कोभिड–१९को महामारीमा जनता छट्पटाएर मरिरहेको, अस्पतालमा बेड, आईसीयू र भेन्टिलेटर नपाएको अवस्थामा पनि सरकार भ्रष्टाचारमा नै मग्न भएको उनले आरोप लगाए । उनले कोरोना संक्रमितले अक्सिजन नपाएर जनताको अनाहकमा ज्यान गइरहेको र सरकार मुकदर्शक बनको आरोप लगाए ।

उनले भने, ‘कोरोना आएको एक वर्ष बढी भइसक्यो । अहिलेसम्म सरकारले के गर्यो ? खोपको व्यवस्था समयमै गरेन । फलस्वरुप नेपाल विश्वमा नै कोभिड–१९को उच्च संक्रमण भएको देशमा छ । यो अवस्था आउनुमा सरकारको दोष छ कि छैन ?’

कमिसनको कारण खोप आउन नसकेको सार्वजनिक भइसकेको बताउँदै उनले जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै भ्रष्टाचार गर्नु अक्ष्यम्य अपराध भएको टिप्पणी गरे । उनले भने, ‘पहिले मास्क, सेनिटाइज र पीपीईमा भ्रष्टाचार भयो, । अहिले खोपमा भइरहेको छ । यो भन्दा निर्लज्जता के हुन सक्छ ?’

देउवाले संसद अधिवेशन अन्त्य गरेर अध्यादेशबाट देश चलाउन थालेको आरोप लगाए । उनले प्रधानमन्त्रीको भ्रष्टाचार नियन्त्रणमा रुची नदेखिएको बरु प्रधानमन्त्री आफै अनियमितता गर्नेको बचाउमा लागेको बताए । देउवाले यो सरकार गठन भएदेखि शान्ति सुरक्षा खस्किँदै गएको, बलात्कारका घटना बढ्दै गएको समेत आरोप लगाए ।

उनले प्रधानमन्त्री ओलीले राखेको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस सांसदलाई निर्देशन दिँदै अन्य सांसदलाई पनि ओलीको विपक्षमा मतदान गर्न आह्वान गरे ।