काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रधानमन्त्री केपी शर्माओलीले विश्वासको मत प्राप्त गर्ने कुनै स्थिति नभएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले मागेको विश्वासको मतको बैठकमा सम्बोधन गर्दै प्रचण्डले सरकार गठनभएदेखिका गतिविधिहरु हेर्दा संसदले उनलाई विश्वासको मत दिने अवस्था नरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘प्रधानमन्त्रीलाई राम्रोसँग थाहा छ यो संसदले उहाँलाई विश्वासको मत दिँदैन ।’ ओलीतर्फ हेर्दै उनले भने, ‘तपाईंको नेतृत्वको सरकार गठन भएपछिका सबै गतिविधिहरु हेर्दा विश्वासको मत प्राप्त गर्ने कुनै स्थिति छैन ।’

संसद विघटन गरेर सांसदको हत्या गर्ने प्रयास गरेका प्रधानमन्त्रीले त्यही संसदमा आएर विश्वासको मत माग्ने नैतिकता नभएको उनले बताए । ‘आज यो सदनमा प्रधानमन्त्रीले विश्वासको मत माग्नु भएको छ । तपाईंले विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीजी ?’ उनले प्रश्न गरे, ‘यो सदनसँग, यी माननीय सांसदसँग माग्ने त्यो अधिकार छ र नैतिक रुपले ?’

प्रधानमन्त्री ओलीलाई संसद पुनर्स्थापना भएको दिनमा नै नैतिकताका आधारमा राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो प्रशस्त गर्नु उपयुक्त हुने सुझाव दिएको स्मरण गर्दै उनले अहिले पनि राजीनामा गरेर बाटो प्रशस्त गर्नु नै लोकतान्त्रिक मूल्यमान्यता, संविधान अनुकुल हुने बताए ।

उनले कोभिड–१९ विरुद्ध लड्नका लागि सबै राजनीतिक दल, संघसंस्था, निकायहरुलाई आग्रह गरे । उनले आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए ।