गण्डकी – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख सीता कुमारी पौडेलले संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।  उनको आजै शपथ गर्ने तयारी गरिएको छ ।


ADVERTISEMENT


गुरुङले यसअघि गत आइतबारमात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामापछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिनभित्र सरकार गठन आह्वान गरेकी थिइन ।


ADVERTISEMENT

# # #


त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले आफूहरुको संसदमा बहुमत भएको दाबी गर्दै नयाँ सरकार गठनका लागि दाबी गरेका थिए ।

कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्रीमा दाबी गरिएको प्रदेश प्रमुखलाई बुझाएका थिए । पोखरेलले कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको समर्थन रहेको दाबी प्रस्तुत गरेका थिए । तर, जनमोर्चाका २ सांसदले कांग्रेसलाई समर्थन नगर्ने बताएपछि गण्डकीको सत्तासमीकरणमा हलचल आएको छ ।

गण्डकीमा ६० सांसद रहेका छन् । नयाँ सरकार बनाउनका लागि ३१ सांसद आवश्यक पर्छ । गण्डकीमा एमालेसँग २८ जना सांसद रहेका छन् ।