भेरी– कोभिड–१९ का बीच पनि उच्च जोखिम मोलेर सेवा प्रदान गर्दै आएको स्वास्थ्यकर्मीमाथि हमला हुने क्रम रोकिएको छैन । केहि समय अगाडि मात्रै विराटनगरस्थित विराट मेडिकल कलेजमा भएको सोहि घटना पुनः भेरी अस्पतालमा दोहोरिएको छ ।


ADVERTISEMENT


बिहिवार अस्पतालमा उपचारका लागि आएका बिरामीका आफन्तले आफ्नो बिरामीको मृत्युको कारण स्वास्थ्यकर्मीलाई देखाउँदै अस्पतालमा तोडफोड गरी त्यहाँका स्वास्थ्यकर्मी माथि हातपात गर्नेजस्ता अमानवीय क्रियाकलाप गरेका हुन् । अस्पतालका अनुसार, आक्रमण गर्ने समूहको बिरामी कोरोना संक्रमित थिए ।


ADVERTISEMENT

# # #


प्राप्त जानकारी अनुसार, बिरामी गम्भीर अवस्थामा नै अस्पताल ल्याइएको थियो । स्याचुरेसनको मात्रा अत्यन्त कम भएको कारण उनलाई भेन्टिलेटरमा राखिएको थियो । तर, स्वास्थ्यकर्मीको प्रयासपछि पनि सो बिरामी बचाउन सकिएन । ‘बिरामीको मृत्युपछि सो समूहले ‘हाम्रो बिरामीलाई भेन्टिलेटरमा किन राखेको? मेरो बिरामी पहिले जस्तो थियो, त्यस्तो बनाई दिनु’ भन्दै हामीमाथि आक्रमण गर्‍यो’, सो समूहको भनाई उदृत गर्दै सोहि घटनामा संलग्न एक नर्सले भनिन् ।

यस्तै, त्यसलगत्तै सो समूहले कोभिड बिरामी राख्ने आईसियु वार्ड नै तोडफोड गरी उपचारमा बाधा पु¥याउँदै त्यहाँका स्वास्थ्यकर्मीमाथि ज्यान मार्ने धम्कीसहित सोहि गतिविधिमा समेत उत्रिएको भेरी अस्पतालले जनाएको छ ।

अस्पतालमा भएको सो दंगापछि आफ्नो ज्यान बचाउन १ चिकित्सकसहित ३ जना नर्स २ तलाबाट हाम फालेका थिए ।

देश कोरोना महामारीको बीच थलिएर बसेको यस विषम् परिस्थितिमा आफ्नो ज्यान जोखिममा मोलेर सेवामा खटिएका स्वास्थ्यकर्मीमाथि नै यस्तो घटनाक्रम बारम्बार दोहोरिनु अत्यन्तै निन्दनीय रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । सो घटनापछि स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रत्याभुतिको माग राख्दै सरकारी चिकित्सक संघ नेपाल(गोदान) लगायत विभिन्न सम्बन्धित संघसंस्था एवम् निकायले घटनामा संलग्नलाई कारवाहिका लागि समेत माग गरेका छन् ।