काठमाडौँ – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा देखा परेका विभिन्न चुनौतीहरुलाई सामूहिक सामना गर्न एसिया सहयोग संवादले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।


ADVERTISEMENT


इरानको तेहरानमा आयोजित एसिया सहयोग संवादको १९औं मन्त्रिस्तरीय बैठकमा सहभागी भई मंगलबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा देखा परेका जलवायु परिवर्तन, द्वन्द्व, उर्जा सुरक्षा, प्राकृतिक प्रकोप, संगठित अपराध जस्ता चुनौतीहरुको सामूहिक रूपमा सामना गर्नका लागि बैठकले महत्वपूर्ण योगदान पुर्याएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


बैठकमा नेपालको सहभागिताले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय रूपमा नेपालको सकारात्मक छविको प्रवर्द्धन गर्न, सदस्य मुलुकहरु बीच आपसी लाभका क्षेत्रहरूमा सहकार्यलाई घनिभूत बनाउन मद्धत पुगेको उनले बताए । एसिया सहयोग संवादको यस बैठकले यसअघिका शिखर सम्मेलन लगायतका बैठकहरूमा भएका निर्णयहरू, समझदारीको प्रभावकारी कार्यान्वयनका लागि सदस्य मुलुकहरू बीच आपसी सहयोग, सहकार्य एवं ऐक्यवद्धतामा जोड दिएको उनले बताए ।

एसियाली मुलुकहरुवीच एशिया सहयोग संवादको उपस्थिति, जनचासो र प्रभावकारिता विस्तार गर्ने उद्देश्य अनुरुप प्रत्येक वर्ष जुन महिनामा एसिडि डे मनाउने बारेमा तेहरान घोषणापत्रमा उल्लेख गरिएको उनले जानकारी दिए । उनले नेपालीसंग हितसम्वन्धी विषयमा पनि साइडलाइन छलफल गरिएको जिकिर गरे ।

बैठकले एसियाली विश्वविद्यालयहरुवीचको सञ्जाललाई विस्तार गरी सदस्य मुलुकहरुवीच सहकार्यका लागि आवश्यक कार्ययोजना बनाउन इरानले अध्यक्षता गरेको शिक्षा र मानव संशाधन विकास सम्बन्धी कार्यदललाई निर्देशन दिएको पनि श्रेष्ठले जानकारी दिए ।