– सुजाता कोईराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस


ADVERTISEMENT


प्रदेश र संसदको चुनाव संघारमा छ । नेपाली कांग्रेसले निर्वाचनको तयारी कुन रुपमा अगाडी बढाएको छ ?


ADVERTISEMENT

# # #


नेपाली कांग्रेस आफैमा सक्षम पार्टी हो । यसले आफ्नो पहिचानलाई गुमाउनु हुँदैन । कांग्रेस आफ्नो खुट्टामा उभिएर चुनाव लड्नु पर्छ भन्ने मेरो मान्यता हो । टिकट बाँड्दा ग्रुपमा विभाजित हुनुहुँदैन । राम्रो र सक्षम व्यक्तिलाई टिकट दिइयो भने नेपाली कांगेस अहिले पनि बलियो छ भनेर म भन्दै आइरहेको छु । पार्टीका कार्यकर्ताहरुको मनोबल बढाउनका लागि उत्साह दिने कार्यक्रमहरु गर्नु पर्यो । सही र समाजमा लोकप्रिय जसलाई टिकट दिएमा जित्न सक्छ त्यस्ता योग्य व्यक्तिलाई टिकट दिनुपर्यो । पार्टीमा सन्तुलन भएन वा एकपक्षीय ढंगले काम गरियो भने त्यो पार्टी कहिलेपनि जित्न सक्दैन । उपलब्धी हासिल गर्नका लागि सबैलाई एकजुट गरेर लैजान सक्नु पर्छ । यसले गर्दा सबैलाई काम गर्ने उर्जा पैदा गर्छ । त्यस कारण अरुसंग तालमेल गर्दै गयौँ भने हाम्रो भूल हुन्छ जस्तो मलाई लाग्छ । यही गल्ती गरेकाले गएको स्थानीय चुनावमा हामी ४० भन्दा कम प्रतिशतमा सिमित भयौँ । यसैले गर्दा पार्टीका केही मानिसहरु बाहिर जाँदैछन् । नेपाली कांग्रेसले कहिलै पनि दासत्वलाई स्वीकार गरेन । कांग्रेसका नेता कार्यकर्तामा स्वाभिमान छ । यदि दासत्व हुन थाल्यो भने उनीहरु पार्टीम बस्न सक्दैनन् । त्यही मानिस नेता हो जसले समान व्यवहार गर्छ र सबैको नेतृत्व गर्न सक्ने खुबी राख्दछ। यस हिसाबले सबैको मनोभावना र विचारलाई आत्मसाथ गर्दै पार्टीले निर्वाचनका लागि रणनीतिक रुपमा अघि बढ्नुपर्छ ।

पार्टीको नेतृत्वशैली प्रति तपाईको असन्तुष्टि छ भन्न खोज्नु भएको हो ?

त्यस्तो भन्दा पनि सबैलाई एकजुट गराएर अगाडी जानु पर्छ भन्ने मेरो मान्यता हो । एकजुट भएर अगाडी बढियो भने जस्तोसुकै शक्तिले पनि पराजित गर्न सक्दैन । तर पार्टीमा असन्तुष्टिका स्वरहरु बढी भए भने पार्टी विजयी यात्रामा धक्का लाग्छ र अर्कोले सजिलै जित्छ । जस्तो म तपाईलाई एउटा उदाहरण दिउँ की स्थानीय तहको निर्वाचनमा विरगंज महानगरपालिकामा कांग्रेस जित्दैन भन्ने मलाई पहिले नै थाहा थियो । किनकी त्यहाँ पार्टीको सल्लाह विपरित गएर टिकट दिइएको थियो । उतिबेला गिरिजा बाबु आएर सबैलाई बोलाएर सल्लाह गर्नुहुन्थ्यो कि कसलाई टिकट दिँदा राम्रो हुन्छ ? को मान्छे राम्रो र मजबुद छ ? भनेर सल्लाह हुन्थ्यो । कहाँ झगडा हुन्छ त्यहाँ मिलाउनु हुन्थ्यो । सबैलाई ढाडस दिनुहुन्थ्यो । त्यसरी हामीमा उत्साह आउँथ्यो अहिले न कोही आएको छ न कसैले सल्लाह गरेको छ । सबैजना चुप लागेर बसेपछि चुनाव कसरी जित्न सकिन्छ ? पार्टीले मेरो न सल्लाह लिन्छ न राम्रोसंग काम नै भईरहेको छ । म बिरामी थिएँ, तर अहिले छैन। सल्लाह नै दिन नसक्ने बिरामी पनि त भएकी थिइँन । त्यसैले चुनाव जित्ने लक्ष्य राखिन्छ भने सबैसंग मिलेर सिझाव सल्लाह गरेर जानु पर्छ भन्ने मेरो मान्यता हो ।

तीनजना कोइरालाहरु एक ठाउँमा बसेर पनि छलफल गर्नुभएको थियो केही पहिले । के निष्कर्ष निकाल्नुभयो त ?

अहिले चुनावको मुखमा सबैजना व्यस्त हुनुहुन्छ । टिकट वितरणका लागि अहिले दिनरात खटिरहनु भएको छ । अहिले सल्लाह पनि त्यस्तो हुन पाएको छैन । तर अलिअलि जस्तो भाईटिकाको बेला बस्दा हामीले यी कुराहरु गरेको हो । पार्टी प्रति सबैजना चिन्तित हुनुहुन्छ । पार्टीले गरेका गल्तीहरुलाई स्वीकार गर्नु पर्छ । अब हामी गल्ती गर्दैनौँ, पार्टीलाई सही ढँगले अगाडी लैजान्छौँ भनेर भन्यो भने अहिले पनि हामीसंग जनता छन् । नेपाली कांग्रेस फेरी पनि स्थापित हुन सक्छ ।

तर, नेपाली कांग्रेस यसरी समूहमा विभाजित भयो भने, टिकट दिँदा एक पक्षीय ढंगले दिइयो भने वा अहिले एकदम हल्ला छ पैसा खाएर टिकट बाँड्ने । यदि त्यो सत्य हो भने त्यसको असर नराम्रो हुन्छ । यदि त्यो सत्य होइन भने त्यसको खण्डन गर्नसक्नु पर्छ । त्यो पनि सुनिएन । त्यस कारण यसले नेपाली कांग्रेसलाई फाइदा गर्दैन । हाम्रो पार्टीमा धेरै त्याग गरेका मानिसहरु छन् । पार्टीको लागि आफ्नो जीवन बलिदान गर्ने मानिसहरु अहिले पनि नेपाली कांग्रेसमा छन् । यी सबैलाई समेट्नुपर्छ । पार्टीको माया छ भने त पार्टीलाई माया गर्ने मानिसलाई अवसर दिनु पर्यो नि । म सुजाता कोइरालालाई माया गर्ने या कोही मानिसलाई बचाएर त केही फाइदा छैन । तर जसले पार्टीलाई माया गर्छ त्यसलाई त अवसर दिनु पर्यो नि । पार्टीलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्यो ।

अहिले बाम गठबन्धनको चर्चा छ । अब नेपाली काँग्रेसले लोकतान्त्रिक धारलाई कसरी समेट्ने या कुन रुपमा अघि बढ्ने त ?

म निशंकोच भन्छु की यी बाम गठबन्धन वा लोकतान्त्रिक गठबन्धन जे भए पनि हास्यास्पद बाहेक केही होइनन् । सबै पार्टी लोकतान्त्रिक भइसकेका छन् । सबै जना यही लोकतान्त्रिक प्रणाली मै प्रधानमन्त्री भएका हुन् । अहिले आंफुलाई बाम भन्नेहरुपनि लोकतन्त्रका सीमाभित्र आइसकेका छन् । त्यसैले म लोकतान्त्रिक अरु गैर लोकतान्त्रिक भन्न मिल्दैन । तर हामी कहाँ चुक्यौँ भने सहमति, सहकार्य, एकता हामीले गर्न सकेनौँ । मलाई थाहा छ मेलमिलाप नीति वीपीले किन लिनु भयो भने त्यतीबेला दरबारबाटै कम्युनिस्टहरु परिचालित हुन्थे । त्यो बेला नेपाली कांग्रेसको विकल्पमा दरबारले नै कम्युनिस्टलाई सिर्जना गरेको थियो । यो सबैलाई थाहा नहुनसक्छ । त्यो दुईवटालाई उग्रवाद तिर जान नदिनका लागि नेपाली कांग्रेसले मेलमिलापको नीति लिएको थियो ।

गिरिजा बाबूले नै भन्नुहुन्थ्यो कि सहमति, सहकार्य र एकता । कम्युनिस्टलाई समेट्न सकिएन भने, उनीहरुलाई डोर्याएर हामी हिंड्न सकेनौँ भने उनीहरु एक भएपछि हामीभन्दा बलियो हुन्छन् भनेर गिरिजाबाबुले भन्नु भएको थियो । त्यही कारण मैले भनेको थिएँ कि ओलीको सरकारलाई नढालौँ । आखिर हामीले जनआन्दोलन मिलेर नै गरेको हो । सबै दलहरु मिलेर नै लोकतान्त्रिक गणतन्त्र ल्याएको हो । सबै मिलेर नै देशको हित हुन्छ त्यसैले सरकार नढालौँ भनेको हो । नत्र भने भोलि नेपाली कांग्रेसलाई खतरा हुनसक्छ भनेर मैँले भनेको थिएँ । आखिर त्यो कुरा अहिले देखियो नि त । मिलाएर गएको भए आज नेपाली कांगेस डराउनु पर्ने कारण पनि थिएन ।

हामीले गलत निर्णय गरेका छौँ । वीपीले सिकाएको कुरा गिरिजाबाबूले ग्रहण गर्नु भयो । तर गिरिजा बाबुको कुरालाई ‘क्यारी आउट’ गर्न दिइएन । कसरी ‘लिगेसी’ खत्तम गर्ने, कसरी गिरिजाबाबूहरुको इतिहास सिध्याउने भन्ने रणनीतिले गर्दा आज पार्टी समस्यामा छ ।

त्यसैले अस्तिपनि मैले बैठकमा भनेँ सहमति, सहकार्य र एकता गरेर जाऔँ । हामी एक भए मात्रै हाम्रो शक्ति बलियो हुन्छ । यो कम्युनिस्ट र यो लोकतान्त्रिक भनेर मुलूकलाई दुई धारमा विभाजन गर्ने रणनीति हो । हामी सबै नेपाली हो । सबै मिलेर नै यो देशको स्वार्थ पूरा गर्न सकिन्छ । विगतका आन्दालनमा पनि मिलेर नै गएका हौँ ।

यो कुरा त सबै नेता कार्यकर्ता, जनतालाई बुझाउनु पर्ला नि त ?

चुनाव मुखैमा छ, समय कम छ । तर म यही मिडियाबाट भन्न चाहन्छु कि अहिलेको दुनियामा एउटाले मात्रै केही पनि गर्न सक्दैन । अहिले केही न केही हिसाबले दुनिया जोडिएको छ । सबै एक अर्काको परिपुरक झैँ देखिएको छ । एउटाको अभावमा अर्को कमजोर हुन्छ । के हामीले पनि एक्लै प्रजातन्त्र, लोकतन्त्र ल्याउन सक्थ्यौँ ? सबै दलको सहकार्य भएर नै सफल भएका हौँ नि । भएको कुरा गर्नु पर्यो नि । सबैलाई समेटेर ‘टिम वोर्क’ गर्नु पर्छ ।

भर्खरै नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई राष्ट्रिय राणनीति प्रशिक्षण दिएको छ । यसबारे तपाईको धारणा के छ ?

अहिले पार्टीले जुन प्रशिक्षण दियो । त्यो काम लाग्ने प्रशिक्षण होइन । पहिले गणेशमान, किसुन जी, गिरिजा बाबूको पालामा खानपिन नगरेर, पैसा खर्च नगरेर जिल्लामा लगातार कार्यक्रम गइरहन्थ्यो । स्थानीय रुपमा त्यहीको मानिसले बुझेका छन् । त्यहीँ प्रशिक्षकहरु छन् । उनीहरुले नै प्रशिक्षण दिन्थे । हामीले त्यो प्रणालीलाई लागू गर्नु पर्छ । पहिले पार्टीको क्रृयाशील सदस्यमा लड्नका लागि १०, १२ वर्ष काम गर्नु पर्थो । तर अहिले सबैलाई खुला गरिदिएको छ । एमालेले गर्यो भनेर त्यही देखासिकी हामीले गर्नु पर्दैन । सबै कुरा एमालको जस्तो भयो भने एमालेले जे भन्छ त्यही गरे भइहाल्यो नि । हामीलाई हाम्रो पहिचान चाहियो । त्यस कारण चुनाव सकिएपछि नेपाली कांग्रेसले ठूलो छलफल गर्नु पर्छ । त्रुटीलाई पहिचान गरेर तिनको समाधान गर्दै पार्टीलाई एकिकृत गरेर लैजानु पर्छ ।

पहिलो संविधान सभाको चुनाव सम्भव थिएन । पहाडमा माओवादी आन्दोलन थियो भने तराईमा मेधसी जनताहरु आन्दोलनमा थिए । नेपाली कांग्रेस जित्ने कुनै सम्भावना थिएन । तरपनि गिरिजाबाबूले भन्नुभएको थियो कि मेरो पार्टी हारे पनि केही हुँदैन देश जित्नुपर्छ , त्यसैले चुनाव गरेरै छाड्छु भन्नु भएको थियो । त्यस्तो अवस्थामा पनि निर्वाचन सफल भयो । जे गरेर भएपनि म माओवादीलाई संसदमा ल्याउँछु भन्नु भएको थियो । आज मानिसहरु शान्ति सम्झौता दिल्लीमा गर्यो भन्छन् । उहाँ नगएको भए आज देशमा शान्ति सम्झौता हुन्थ्यो ? त्यो बेलाको परिस्थिति के थियो बुझ्नु पर्यो नि । त्यो बेलामा त गिरिजाबाबुले म नर्कमा गएर सम्झौता गर्न परे पनि देशमा शान्ति आउँछ भने निर्णय लिन तयार छु भन्नुभएको थियो ।

गिरिजा बाबूको त्यो बेलाको भूमिका र निर्णयले नै अहिले देशमा शान्ति प्रक्रिया टुङ्गोमा पुगेको छ । देशमा संसद्को पुर्नस्थापना भयो । त्यसपछि संविधान सभाको निर्वाचन हुँदै संविधान निर्माण भएर कार्यान्वयनको चरणमा अघि बढिरहेको छ । परिवर्तनहरु संस्थागत भएका छन् । जनता र देश सुमृद्ध बन्ने चरणमा प्रवेश गरेका छन् ।

यदाकदा निर्वाचन सारिन्छ भन्ने हल्ला पनि चलाईन्छ नि, तपाईले पनि सुन्नुभएको छ ?

निर्वाचन सार्यो भने त्यसले नेपाली कांग्रेसको पतन हुन्छ । जसले लोकतन्त्रका लागि यत्रो लड्यो, जसले लोकतन्त्रका लागि आफ्नो जीवन बलिदान गर्यो उसले कसरी चुनावसित डराउँछ ? नाटक, बाहाना गरे चुनाव सार्न खोज्ने कुरा असम्भव छ ।

मलाई लाग्छ त्यो नेपाली कांग्रेसले गर्न सक्दैन । गर्यो भने पार्टी भित्र र बाहिर दुबैतिरबाट त्यसको विरोध हुन्छ । निर्वाचन सम्पन्न गर्नु भनेको नेपाली कांग्रेसको मुख्य एजेण्डा हो । सरकार पनि त्यही गतिका साथ अगाडी बढेको छ । संविधान पनि नेपाली कांग्रेसकै नेतृत्वमा बनेको हो र यसको कार्यान्वयन पनि हामीबाट नै हुन्छ ।

पार्टीमा केही नेताहरुलाई जिम्मेवारी बाँडफाँडको कुरा पनि चलिरहेको छ, यस्लाई कसरी हेरिरहनु भएको छ ?

पार्टीमा ठिक मानिसलाई ठिक ठाउँमा ल्याउनु पर्छ । र यसका लागि ‘सिनियोरिटी’ पनि हेर्नुपर्छ । अनुभव र योगदान पनि हेर्नु पर्छ । सबै कुरा हेरेर पार्टीले निर्णय लिनु पर्छ । यत्तिकै कसैलाई पार्टीले हावाको तालमा ल्यायो भने त्यसले फेरि चुनावमा असर पार्छ । एक त चुनावभन्दा अगाडी कसैलाई नियुक्ती गर्नु नै ठिक होइन । चुनावभन्दा अगाडी गलत मानिसलाई पदाधिकारी या जिम्मेवारी दियो भने यसबाट नपाली कांग्रेसले धेरै ठूलो मुल्य चुकाउनु पर्छ । यस्को ठूलो बिरोध हुनेछ । महिलाहरुलाई ल्याउनु पर्छ । तर नेपाली कांग्रेसमा महिला सक्षम भएपनि उनीहरुलाई पछाडी पारिन्छ । महिलामा उत्साह बढाउने हो भने, महिलाको भोट तान्ने हो भने महिला नेतृत्वलाई अगाडी बढाउनु पर्छ । भएका मानिसहरुलाई परिचालन गर्दै नयाँलाई पनि अवसर दिनुपर्छ ।

आउँदो निर्वाचनमा तपाईको भूमिका बताईदिनुस् न ?

मेरो त गिरिजा बाबूको क्षेत्रबाट लड्ने मेरो सोच थियो । मोरङभरि त्यो सुरक्षित क्षेत्र हो । मलाई लड्ने इच्छा भएको र जित्ने पक्का भएको क्षेत्र पनि त्यही हो । मैले केही जिम्मेवारी नपाउँदा पनि त्यो क्षेत्रका लागि गरिराखेँ । मैले अहिले स्वास्थ्यलाई एकदमै प्राथमिकता दिएकी छु । म बिरामी भएपश्चात नर्मल अवस्थामा पुग्नका लागि एक वर्ष लाग्यो । अहिले कुनै रोग छैन । म पूर्ण स्वस्थ भइसकेको छु । चुनावको बेला धेरै नै धपेडी हुन्छ कि भनेर मैले प्रत्यक्ष भन्दा पनि समानुपातिकमा जाने कि भनेर सोचिरहेकी छु । यो कुरा मैले पार्टी सभापतिलाई पनि भनेको छु । उहाँले पनि हुन्छ भन्नु भएको छ ।

अन्त्यमा, चुनाव नजिकिंदै गर्दा सम्पूर्ण नेता कार्यकर्ता र जनतालाई के भन्न चाहनुहुन्छ ?

म त के भन्न चाहन्छु भने नेपाली कांग्रेस मिलेर जानु पर्छ । सबै जना मिलेन भने पार्टीको भविष्य पनि अध्यारो हुँदै जान्छ । व्यक्तिगत चुनाव लडेको हो भने त मलाई थाहा छैन । तर, पार्टीको चिन्ता भएकाहरु हुनुहुन्छ भने वीपी, गिरिजा बाबूले दिनुभएको जुन सहमति, सहकार्य र एकताको भाव थियो । त्यसलाई पालना गर्नु पर्छ । कमसेकम आफूमात्र मिलेर भएपनि जिल्लामा आफूभन्दा पनि पार्टीलाई प्राथमिकतामा राखेर अगाडी बढ्नुस् र नेपाली कांग्रेसलाई अत्याधिक बहुमतले जिताएर ल्याउनुस् । छठको सबैमा मँगलमय शुभकामना छ । जय नेपाल । ।