काठमाडौँ  – मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा सभामुख अग्नी सापकोटाले पूर्वप्रधानमन्त्री सहित बिभिन्न दलका शिर्ष नेतासंग छलफल गरेका छन् । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाले संसद विघटन, अदालतमा रहेको मुद्दा र पछिल्ला घटनाक्रमका विषयमा विभिन्न दलका शिर्ष नेतासंग छलफल गरेका हुन् ।


ADVERTISEMENT


छलफलका क्रममा दलका शीर्ष नेताहरुले संसद विघटनदेखि चूरेदोहन गर्ने अलोकतान्त्रिक निर्णय सरकारले गरेको धारणा राखेका थिए । त्यस्तै उनीहरुले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा पनि सरकारको प्रयाप्त ध्यान जान नसकेको बताएका थिए । बैठकपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले चूनावको घोषणा गरेपनि चूनाव गर्ने नियत नदेखिएकोमा सबैको एकमत रहेको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘निर्वाचनको उम्मेदवारी दर्ता नभएसम्म सभामुखको पद रहिरहने भएकाले तपाईंले दलहरुलाई घच्घच्याइ राख्ने र लोकतन्त्रको रक्षामा पहरेदारी गरिराख्ने जिम्मेवारी हुन्छ, यसमा तपाईं लाग्नुहोस् हाम्रो साथ र सहयोग हुन्छ भनेका छौँ ।’

त्यस्तै चुरेका विषयमा बजेटमा आएका विषयमा पनि दलहरुको असन्तुष्टि रहेको जिकिर गरे । देशको संविधान र व्यवस्था नै विफल पार्ने गरी षडयन्त्र भइरहेको उनको आरोप थियो । सर्वोच्चबाट प्रतिनिधि सभा पुनःस्थापना भए त्यो सबैभन्दा उपयुक्त निकास हुने डा. भट्टराईको भनाइ थियो ।

त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चले न्याय दिनेमा सवै पार्टीको विश्वास रहेको बताए । अहिलेको अवस्थाका कसरी अघि बढ्ने भन्नेमा छलफल केन्द्रीत रहेको उनले बताए ।

उनले अहिले जसपा एकै रहेको र पार्टीभित्र विवाद मात्र रहेको तर्क गरे । उनले नागरिकताको कानून सरकारले संसदबाटै पारित गराउनुपर्ने बताए ।

सभामुख सापकोटाले अहिले लोकतन्त्र र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउने जिम्मा सबैको काधमा आएको बताएका थिए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका असन्तुष्ट नेता माधव नेपाल, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी थिए ।

प्रधानमन्त्री केपी ओलीलाई पनि बैठकमा सहभागी हुन आमन्त्रण गरे पनि उनी सहभागी भएनन् ।