काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।


ADVERTISEMENT


नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा उनले नेपालका विविध क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


भेटमा राजदूत गोडेरले सञ्चारमन्त्री थापालाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनले नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग र सहकार्य गर्न इच्छुक रहेको बताउँदै नेपाल–इजरायल सम्बन्धले ६० वर्ष पूरा गरेको र आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास समेत व्यक्त गरेका छन्। रासस