– राजेन्द्र प्रसाद फुयाल

राजनीति देशको लागि मेरुदण्ड हुन्छ । राजनीति समाजको जीवन पद्धति हुन्छ । राजनीतिले नै जनताको मनोवृत्ति र देशको गौरवलाई उचो राख्ने कार्य गर्दछ । तर यदि स्खलन भएमा यसले एउटा ठूलो चक्रवातमा देश र जनताहरूलाई लैजान्छ । विचार, सिद्धान्त र व्यवहारको भुमरीमा दिग्भ्रमित बनाइदिन्छ । तथापि देशका बौद्धिक र सचेत नागरिकले समयमा नै श्रवण, मनन र बोध गर्न सकेमा चक्रव्यूहरूबाट बाहिर आउन सकिन्छ अन्यथा महाभारतका अभिमन्यूको हालत हुन सक्छ । त्यसैले सबै बौद्धिक र सचेत नागरिकले बोधपूर्ण विचार मन्थन गर्दै यथार्थपरक सुझबुझबाट मार्गदर्शन गर्न र हुन सके अझै पनि समय व्यतित भइसकेको छैन ।


ADVERTISEMENT

# # #


यद्दपी म कुनै राजनीतिक विश्लेषकको उपाधि पाएको व्यक्ति होइन । जीवनको लामो समय, आजसम्म विद्यालयको शिक्षण पेशामा कर्मशील साधारण नागरिक हो । तथापी यस लेखमा मेरो स्वअध्ययन र अनुभवको सँगालोलाई समेट्ने प्रयास गरेको छु । यसलाई पढ्नु हुने सवै अध्ययनशील र देशप्रेमी महानुभावहरूलाई निश्पक्ष र निरपेक्ष भएर देश जनता र समाजसँग सकरात्मक उत्प्रेरक तथा मार्गदर्शक भइदिन विनम्र आग्रह गर्दछु ।

दृढ इच्छा शक्तिले असम्भवलाई सम्भव बनाइदिन्छ । ‘एरोडायनामिक्स’को नियम (हवाइजहाज उडाउने नियम) लाई आधार मान्दा भमराको बनावट यस्तो प्रकारको हुन्छ की उसलाई उड्न सम्भव हुदैन । तर उसको दृढ इच्छा शक्तिले, उड्नको लागि शुरुमा आफ्नो सम्पूर्ण प्राणशक्ति लगाएर पखेटा फटफटाउँछ । पखेटाको जोडसँगको फटफटाहटले त्यहाँ एक प्रकारको भुमरी बन्छ । उक्त भुमरीको खिचाइको कारणले भमरा उड्न सफल हुन्छ । यस प्रकार दृढ र सच्चा मनसायबाट प्रयास गर्दा असम्भवलाई सम्भव बनाउन सकिन्छ ।

“यदि मलाई शब्दकोशको अधिकृत बनाइदिए असम्भव शब्द नै हटाइदिन्छु ।” – महान रकेट डिजाइनर बाँन ब्राँन 
“मलाई १०० जाना कर्मशील , लगनशील दृढशङ्कल्पित युवाहरु देऊ, म संसार नै बदलिदिन्छु ।” – स्वामी विवेकानन्द

जन्मेका सम्पूर्ण प्राणीको एक मात्र प्रिय वा प्रियतम भनेको स्वतन्त्रता हो । दोश्रो सुरक्षा हो । यही स्वतन्त्रतालाई स्वभिमान, आत्मसम्मान भन्ने गरिन्छ । प्रजातन्त्रको आधार मानिन्छ । तथापि स्वतन्त्रता स्वेच्छाचारीमा परिणत भएमा अराजक र मानविय हित विपरित र स्वयमलाई समेत हानिकारक हुन पुग्छ । मानव जाति अन्य सृष्टिका प्राणीहरूभन्दा उच्च यस अर्थले मानिन्छ कि उनीहरूसँग मन र बुद्धि हुन्छ । अझ त्यो भन्दा अगाडी विवेक छ ।
विवेक के हो ? यसलाई कसरी सम्हाल्ने ? विवेकको प्रयोग कसरी गर्ने ?

“विवेक आत्माको ज्योति हो । मनुष्यको मनमन्दिमा बलिरहेको हुन्छ । यो यति वास्तविक छ कि जति जीवन छ ” – भारतीय पूर्व राष्टपति स्व.अब्दुल कलाम

जब कसैले सदाचारविरुद्ध आचरण गर्दछ उक्त ज्योतिले विरोध गर्दछ । विवेक सत्यको स्वरुप हो । जुन हाम्रो आनुवंशिक भण्डारबाट ज्ञानको रूपमा निक्लन्छ र हाम्रो कर्म अर्थात राम्रो–नराम्रो अनुभवमा बदलिन्छ । विवेकको फलक विशाल हुन्छ जसमा हाम्रो अपराधहरू रजिस्टर्ड भएको हुन्छ । यो एक डर लाग्दो शक्ति हो । यसले डराउँछ, आश्वासन दिन्छ, पुरस्कार दिन्छ र दण्डित गर्दछ । जो कोही यसैको नियन्त्रणमा हुन्छ । यदि विवेकले पहिलो पटक जवाफ दिन्छ भने यो चेतावनी हो । जव दोश्रो पटक सचेत गर्दछ तब व्यक्तिको कार्यलाई निन्दा गर्दछ । विवेकको अलवा अरु पनि सकृय भइरहेका हुन्छन् । जस्तो डर, लोभ, गर्व वासना आदि । डरले सोध्छ , के सुरक्षित छ ? लोभले भन्छ के यसमा कुनै लाभ छ ? गर्वले भन्छ , के म यसबाट महान बन्न सक्छु ? वासनाले भन्छ , के यसमा कुनै मनोरञ्जन हुन्छ ?

तर, विवेकले भन्छ के यो उचित हो ? हामी आफ्नो अन्तरआत्मबाट उठ्ने विवेकको आवाज किन सुन्दैनौ ? यसले घचघचाउँदा पनि बेखवर किन हुन्छौ ? यसको आलोचनालाई लापर्वाही किन गछौँ अर्थात हामी किन विवेकशुन्य जस्तो भएका छौँ ? यी सबैको एउटै उत्तर हामी टुक्र्याइएका छौं, विभाजित भएका छौं अर्थात क्रप्ड  भएका छौँ । अझ अगाडि भन्नुपर्दा भ्रष्टचार नै हो । यो नै हाम्रो विवेक प्रतिको प्रहार हो । तर डर, लोभ, गर्व वासना तथा अहंकार र अहं भावनाले गर्दा विवेकलाई तिरस्कृत गर्ने आदत बनेको छ । हामीले यही मानेर बसेका छौँ कि म ठीक छु । तर हामी विज्ञानको नियम क्रिया–प्रतिक्रिया ९ब्अतष्यल–चभबअतष्यल० बाट अपरिचित छौँ । यद्यपि जानिफकार त छौं तर त्यसको बोध र समझबाट टाढा भएका छौँ ।

हामीले यो नभुलौँ कि हाम्रो सोच, विश्वास क्रियाकलाप अवचेतन मनमा पर्छ । अवचेतनको प्रभाव फेरि हाम्रो मनमा र अरु कयौँमा कति धेरै पर्छ ? भन्ने कुरामा हामीले नजरअन्दाज गरिरहेका छौं । जस्तो यदि तपाईँ घुस लिनुहुन्छ भने यसको असर अवचेतन मनको माध्यमबाट तपाईँको विचार र अरु कयौंमा पर्दछ । तपाईंको यो बेइमानी तपाईँको अघिल्लो पुस्तामा पुग्छ । के यसले उनीहरुको हित हुन सक्छ ?

मनोविज्ञानले मनको अध्ययन गर्दछ तर कसरी ? व्यक्तिको शारीरिक बनोट व्यवहार हाउभाऊ तथा शारीरीक संकेतहरू र उसको अभिव्यक्तिको आधारमा गरिने अध्ययन नै मनोविज्ञानका क्षेत्रहरु हुन् । अझ महत्त्वपूर्ण कुरा त ति विभिन्न अभिव्यक्तिको पछाडी के कारण हुन सक्छन् भन्ने मनोविज्ञानको चुरो (गुदि) भित्र पर्दछ ।

नेपालको राजनीतिक व्यक्तित्वहरुको चर्चा गर्दा वि.पि. कोइराला, पुष्पलाल श्रेष्ठ, कृष्ण प्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितहरूको कुरा, त्यसैगरि राजा महेन्द्र तथा उदारवादी राजा विरेन्द्र सम्मलाई लिन सकिन्छ । माथिका सवै नेतृत्व गणहरुको दोष अवश्य थिए होलान् तर उहाँहरुको देशभक्ति जनताप्रतिको सकरात्मक अवधारणा, निष्टा, कर्मशीलता तथा आदर्श व्यक्तित्वमा आज कसैले पनि नजरअन्दाज गर्न सक्दैन र मिल्दैन । तर उनीहरुलाई या त मारियो या देश द्रोही तथा भारत परस्तसम्मको जघन्य आरोप लगाइयो या पलायन तथा सन्यास लिन बाध्य पारियो वा बाध्य बनाइयो । २००७ साल यताको कुरा गर्दा त अस्थिरता, प्रतिसोध, मनमुटाब, युद्ध र संघर्षको परिधिभित्र अस्वभाविक देशभक्त, जनभावनाको कदर, समृद्धि विकासको कुराहरुको धज्जी उडाउने कार्यहरु मौलाएको देखिन्छ ।

वर्तमान समयमा नेतृत्व गर्ने व्यक्तिहरूको कुरा गर्ने हो भने, जस्तो शेरबहादुर देउवा, प्रचण्ड, माधव, बाबुराम, महन्त ठाकुर तथा के.पि ओलिहरूलाई लिन सकिन्छ । उनीहरूको इतिहास केलाउने हो भने, सम्पूर्ण जीवनको दुई तिहाईँ समय अर्थात आधा शताब्दी नेपाली राजनीतिको सेरोफेरोमा सर्मपित देखिन्छ । जेल नेल दुःख कष्ठको खात लागेको पाइन्छ । उहाँहरूको त्यस बेलाको शब्द र जनता प्रतिको मनोभाव, अभिप्राय तथा उद्धेश्य स्पष्ट र निर्दोश देख्न सकिन्छ । तर तिनै व्यक्तिहरू आज जनताको सामु अपहेलित भएका छन् ।

नेपालको इतिहासको विभिन्न कालखण्ड जस्तो जंगबहादुर राणाको उदय अगाडी र पछि २००७ साल सम्म, २००७–२०१७ सम्म , २०१७–२०३६ सम्म, २०३६–२०४६ सम्म, २०४६–२०६३ सम्म र २०६३–२०७२ सम्म र तत् पश्चात हालसम्मको राजनीतिको पृष्ठभूमिको विकासलाई हेर्दा यही अस्थिरताको सेरोफेरोमा मौलाएको तथा नकरात्मक मनोवृत्तिमा नै रमाईरहेको पाइन्छ ।

नेपालको नेतृत्व किन यसरी असाधारण रुपमा असफल भइरहेको छ ? के नेपालमा त्यस प्रकारको देश र जनताको पक्षमा समर्पित नेतृत्व नजन्मेको हो र ? विडम्बना भन्नु पर्छ, जव जव नेपाली राजनीतिको मुल ढोका प्रवेश गर्दछन् या त मरिन्छन् या बदनाम गरिन्छ या गुमनाम गराइन्छ । जव जव स्थायित्वको लागि नेपाली जनताले कुनै दल तथा राजनीतिक नेतृत्वलाई बहुमत दिन्छन् त्यो १ देखी ३ वर्ष पनि नटिकीकन छिन्न भिन्न हुन्छन् । नेताहरु चाहेर पनि मिल्न सकिराको हुदैनन् र कसैले पहल ग¥यो भने ऊ नै शंका र उपसंकाको घेराभित्रको अलोकप्रिय पात्र हुन्छ र लगभग विस्तापित हुने अवस्थामा पुग्ने भएपछि कुनै गुट र उपगुटमा गएर जोडिन्छ ।

आखिर किन यस्तो भइरहेको छ ? नेपालका बुद्धिजीवि भन्नेहरु, पत्रकार, अधिवक्ता, लेखक–कलाकार ……. आदि सबै यहि अस्तिरता र गुट उपगुटको शिकार भइरहने हो ? र सधैभरी यस्तै प्रकारको डम्फु बजाउन, आ–आफ्नै तालका तर्क–वितर्क मै अभ्यस्त भइरहने हो ? सर्व साधारणमा यति नकरात्मक मनोवृत्ति र अविश्वास, निराशा मौलाइरहेको कुरा, सोसियल मिडियामा तथा चोक बजारमा देखिने अभिव्यक्तिबाट अनुमान लगाउन सकिन्छ ।

यसको पछाडिको राज अथवा कारण खोज्ने प्रयास गर्ने हो कि ? कुन शक्तिले नेतृत्वलाई विभाजन गर्न र गराउन लागि परेका छन् ? यहाँ फेरी विदेशी शक्ति, अथवा भारतीय रणनीतिको हवला दिएर पानी माथिको ओभानु हुने प्रयास नगरौ । नेतृत्व चङ्गुलमा फस्न सक्छन् तर त्यसको चिरफार र समाधानको जिम्मा एउटा प्रजातान्त्रिक मुलुकमा सचेत नागरिकको हुन्छ । तथापी भन्न मन लाग्छ, आफूलाई उच्च वर्ग र समुदाय भन्नेहरुलाई यसको मयाजालमा परिरहेको आभास पनि भइरहेको छैन जस्तो लाग्छ । अर्को वर्ग मुकदर्शक हुनु सिवाय केही नगर्ने भएको छ । यसबाहेक एक मेहनत नगर्ने तर सुविधा र मनोरोञ्जनको दास हुने आफूले खाएको थाल समेत नमाझ्ने तर पद र पैसाको लागि जुत्ताको तलुवा चाट्न पनि अघि सर्ने मनोवृत्तिले प्रश्रय पाइरहेको देखिन्छ । यद्यपी दोष कसैमाथि नथुपारौँ किनभने यो सवै गरिबी, अशिक्षा र उच्च महत्त्वाकाङ्क्षा अथवा भनौ आजको मानवीय आवश्यकताको असुरक्षाले जन्माएको मनोवृत्ति हो । । बरू यसको पछाडि कतै योजनाबद्ध श्रृङ्खला त छैन ? सोच्ने बेला भएको छ ।

अझ आश्चर्य लाग्दो त, नेपाली उखानमा कागको बठ्याइँ भनेझै ती वर्गलाई थाहा नभएको केहि छैन । सवै विषय र क्षेत्रमा ज्ञान राख्दछन् तर व्यवहार र अभिव्यक्ति हेर्दा मनै खिन्न भएर आउँछ । जस्तो साधु–सन्तको कुरा गर्दछन् । मरेर कसले के लगेको छ ? मलाई पैसा पद केहिको लोभ छैन अथवा इश्वर, परमात्मा, बुद्धत्व जस्तो परम ज्ञानको कुरा गरिरहन्छ र त्यसै बिचमा तरकारी पसलमा तरकारी पसलले ५० रुपैयाँ किलो टमाटर ६० रुपैयाँ भन्यो भने, शायद उसको खरिद मूल्य नै बढी प¥यो कि, शायद उसको केहि टमाटर कुहियो कि भनेर एकछिन पनि सोच्दैन । त्यो गरिवसँग झगडा गर्ने , तँ यहाँ लुट्न बसेको हो भन्ने र सकेसम्मको आँखा तर्ने गर्दछ । मानी लिउँ अरुलाई आच्छेप लगाउने र दोष देखाउने कुरामा पि. एच. डि नै गरेको छ तर आदर्श, ज्ञानगुनको कुरामा अरुलाई बोल्ने अवसर नै दिदैन । यदि अवसर दिन्छ भनै आफु बोल्ने तयारीका लागि दिने गर्दछ ।

अर्को पक्षबाट कुरा गर्दा नोकरशाही प्रवृति हावी भएको देखिन्छ । जस्तो काममा बोस वा हाकिमको कारणले दुःखी हुन्छ , घरमा श्रीमतिमाथि रिस खनाउँछ । श्रीमतिले छोराछोरीमाथि, छोरा छोरीले घरमा पालेको कुकुर बिरालो वा खेलौनामाथिको व्यवहार अचेतन रुपले भइरहेको हुन्छ । नेताहरुको भाषण, कर्मचारीहरुको बफादारी पूर्ण अभिव्यक्ति, शिक्षक–प्राध्यापक लेखक–बुद्धिजीविको चिन्तन र चासो सर्वसाधरणको चित्त दुखाईको कुरा सुन्दा र देख्दा यस्तो लाग्छ देश त उहिल्यै रामराज्यको कथामा उल्लेखित शु–सासन र समृद्धि भएको पनि शताब्दी भइसक्यौ तर यर्थातमा …?

कुनैपनि राष्ट्रमा राजनीतिक स्खलनको परिस्थिति सिर्जित हुँदा न्यायालय सक्रिय भएको हुन्छ । न्यायलयको निर्णयलाई स्वीकार गर्नुपर्छ भन्ने कुरा सुशानका लागि हो । यद्यपि निर्णय सही हुन्छ भन्न सकिँदैन । किनभने आयातित ज्ञान, लोभी-पापी मन र आवनात्मक आवेगका तथाकथित बौद्धिक अभिव्यक्तिहरूले सर्वसाधारणमा विकास भइरहेको मनोवृत्तिको सेरोफेरोमा न्यायलयपनि अछुतो रहन सक्दैन । त्यही सेरोफेरोमा भइरहेको न्यायलयको निर्णय व्यापारी मनहरूको लागि हर्ष र गमको परिधिमा घुमिरहेको हुन्छ । तर स्मरण रहोस, यो त नेपाली उखानको ‘फूल फुलन्ती कोपिला हसन्ती’ भनेजस्तो मात्र हो ।

अन्तमा, म विनम्र आग्रह गर्न चहान्छु … अब सोचौ ! मनन गरौ ! सबैले अरुलाई दोषारोपण गर्नु भन्दा आफूलाई हेरौँ । मेरो काहाँनेर सुर्धान पर्ने छ । मैले मेरो लागि र मेरो वरीपरिको परिवार र समाजको लागि के गर्न सक्छु । कमसेकम अरुलाई कुनै प्रकारको क्षति नगरी साहानुभूति कसरी राख्न सक्छु । अरुले के गरिराखेको छ भन्ने कुरामा भन्दा मैले के गर्न सक्छु र के गर्नुपर्छ भन्ने कुरामा विचार पुर्‍याई कार्यान्न्वयन गर्न सके मात्र आजको सामाजिक मनोवृत्तिमा सकरात्मक उर्जा भर्न सकिन्छ । किनभने व्यक्ति व्यक्ति मिलेर समाज बन्ने हो । व्यक्ति समाजको हिस्सामात्र होइन, ऊ समाजको अगुवा पनि हो ।

ईश्वरले हामी सबैलाई सद्बुद्धि प्रदान गरुन, सकारात्मक चिन्तनका लागि उर्जा भरुन , कल्याण गरुन !!

(लेखक फुयाल सृजना काठमाडौँको तरकेश्वर – ४, गोलढुङ्गास्थित ज्ञानसागर मा. वि. का प्रिन्सिपल प्रधानाध्यापक हुन् ।)

प्रतिकृया

प्रतिकृया