पर्वत– पर्वत सदरमुकाम कुश्माबजारमा पाँच दिनपछि खानेपानीको आंशिक आपूर्ति भएको छ ।


ADVERTISEMENT


पहिरो र बाढीले क्षतविक्षत भएको क्यादीखोलाको मुल मर्मतपछि उपभोक्ताको धारामा पानी आउन थालेको हो ।


ADVERTISEMENT

# # #


पातीखोलाको पाइप लाइन अझै सञ्चालन हुनसकेको छैन । मङ्गलबारको बाढी र पहिराले क्यादीखोला र पातीखोलाको पाइप लाइन पुरिँदा कुश्मामा पानी आपूर्ति रोकिएको थियो ।

क्यादीखोलाको पानी आएपछि उपभोक्ताको आधा माग मात्रै पूरा भएको छ । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले पातीखोलाको पाइप लाइन मर्मतको काम पनि शुरु भएको बताए । पाइप लाइनमा क्षति भएपछि कुश्मा नगरपालिका र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खर्चमा पाइप परिवर्तन गरेर खानेपानीको आपूर्ति सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । क्यादीखोलासहित गोदाम र खुर्कोटको बर्खेमुलबाट पनि पानी ल्याइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । कुश्मा–८ चुवास्थित सुन्दरे खोलामा आएको बाढीले पातीखोलाको पाइप लाइन क्षतविक्षत बनाएपछि उक्त लाइन मर्मत गर्न केही दिन लाग्ने अध्यक्ष श्रेष्ठले जनाए ।

संस्थाका प्रबन्धक राजेन्द्र रोकाका अनुसार पानी आपूर्तिका लागि राखिएका चार ठूला ट्याङ्कीमा क्यादीखोला र पातीखोला दुवैतर्फको मुहानबाट दैनिक २६ लाख लिटर पानी आउने गरेको थियो । त्यसमध्येको करिब २० लाख लिटर खपत हुने गरेको छ । बजारमा संस्थामार्फत दुई हजार ५६१ वटा धारा जडान गरिएका छन् । पानी आपूर्ति नहुँदा उपभोक्ताले आकाशेपानी जोहो गरेर पिउने गरेका थिए । कतिपयले नजिकैका पँधेरामा पुगेर पानीको खाँचो टार्दै आएका थिए ।