गण्डकी– गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएकोे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज छ प्रदेशसभा सदस्यलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।


ADVERTISEMENT


थपिने मन्त्रीमध्ये नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा कँडेलले पर्यटन, वाणिज्य तथा आपूर्ति, विन्दुकुमार थापाले कानून, सञ्चार तथा प्रदेशसभा मामिला र मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, नेकपा (माओवादी केन्द्र)का रामजी बरालले अर्थ, दीपक थापाले वन, वातावरण तथा भूसंरक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको पदभार पाएका छन् । नवनियुक्त मन्त्रीलाई आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नेपालीका उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराएकी छन् । शपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोला, सुरक्षा निकायका उच्चपदस्थ अधिकारी, प्रदेश सरकारका सचिवलगायतको उपस्थित रहेको थियो ।

यसअघि मुख्यमन्त्री पोखरेलले कांग्रेसका कुमार खड्का, जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्य, माओवादीकी मधुमाया अधिकारी र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई मन्त्री पदमा नियुक्त गरेका थिए । जसमा खड्का भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था, आचार्य ऊर्जा, जलस्रोत र खानेपानी मन्त्रालय, अधिकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् भने, दिपक मनाङे भनेर चिनिने राजीव गुरुङ युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएका छन् । रासस