काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त डा यादवले समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिए ।


ADVERTISEMENT


आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा निर्वाचन आयोगमा बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकमा उनले आगामी निर्वाचनका लागि तयार गरिएको सुरक्षा योजना र त्यसको कार्यान्वयनको तयारीप्रति सन्तोष व्यक्त गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


दोस्रो चरणमा निर्वाचन हुने प्रतिनिधि सभाका १२८ सदस्य र प्रदेश सभातर्फ २५६ सदस्यको निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारको मनोनयनपत्र दर्तालगायत समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले सुरक्षा निकायका पदाधिकारीलाई सुझाव दिएका थिए ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनका लागि तयार गरिएको सुरक्षा योजनालाई त्रुटिरहित ढंगबाट कार्यान्वयन गर्नका लागि चारवटै सुरक्षा निकायलाई उच्चस्तरको समन्वय र सम्पर्कमा रही काम गर्न निर्देशन दिए ।

शान्ति सुरक्षालगायत निर्वाचन सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोग नेपाल सरकारबाट प्राप्त हुनेप विश्वास व्यक्त गर्दै उनले जिल्ला तहमा मतदान कार्यमा खटिने कर्मचारीहरूको खटनपटनमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकारी र प्रमुख जिल्ला अधिकारी बीचमा सहयोग र समझदारी कायम गरी काम गर्न सुझाव दिए ।

सो अवसरमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचन आयोगको निर्देशनअनुसार आगामी निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको र आयोगको सुझावअनुसार सुरक्षा योजनालाई आवश्यक परिमार्जन गरी निर्वाचनमा उच्चस्तरको सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त रे ।

रक्षा मन्त्रालयका सचिव श्रीधर सापकोटाले नेपाल सरकारले दिएको जिम्मेवारीअनुसार अन्य सुरक्षा निकायसँग मिलेर निर्वाचनमा सुरक्षा प्रदान गर्न नेपाली सेना तयार रहेको बताए ।

बैठकमा आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका बलाध्यक्षरथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी सहभागी थिए ।