काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । सो प्रतियोगिता आगामी कात्तिक २९ गतेदेखि गर्ने निर्णय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।


ADVERTISEMENT


एन्फा र लिगमा सहभागी हुने १४ क्लबका प्रतिनिधिबीच आज भएको बैठकले लिगको समय परिवर्तन गर्ने निर्णय गरेको हो । यसअघि ए डिभिजन लिग असोज ३ गतेदेखि तय भएको थियो । साफ च्याम्पियनशिप आगामी असोज तेस्रो साता आयोजना हुने भएकाले लिग ढिला गर्नुपरेको एन्फाले जनाएको छ । यसपटक लिग विजेताले ७५ लाख पुरस्कार प्राप्त गर्ने छ । यसअघि विजेताले ५० लाख पाउने गरेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै लिग उपविजेताले ५० लाख पुरस्कार प्राप्त गर्ने छ । यसअघि उपविजेतालाई २५ लाख दिइने गरिएको थियो । तेस्रो हुने टोलीले २५ लाख पुरस्कार प्राप्त गर्नेछ । ए डिभिजन लिगमा सहभागी हुने प्रत्येक क्लबलाई प्रतियोगिताको तयारीका लागि २० लाख उपलब्ध गराउने एन्फाले जनाएको छ । लिगको अङ्कतालिकाको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन् । लिगका लागि खेलाडीको दर्ता प्रक्रियाको थालनी भइसकेको छ । लिगमा सहभागी हुने १४ वटै क्लबले खेलाडीलाई अनुबन्ध गर्ने काम गरिरहेका छन् । रासस