• नैनसिंह महर, अध्यक्ष, नेविसंघ

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा यसपाली जनताले बाम गठबन्धनलाई बढी विश्वास गरेका छन् कि भनेर भनिँदैछ नि बजारमा ?


ADVERTISEMENT


तपाईको प्रश्न नै उल्टो भयो । पहिलो कुरा कम्यनिस्ट गठबन्धनको खिलापमा जनमत सिर्जना हुँदैछ । कम्युनिस्ट अधिनायकवाद शासन आएर, विश्व इतिहासमा कम्युनिस्टको आन्दोलनले जसरी करोडौ मानिसहरुको ज्यान लियो त्यसरी नेपालमा अहिले कम्युनिस्टको गठबन्धन भनिएको छ, त्यसले हजारौँ नेपालीको ज्यान लिन्छ कि भन्ने चिन्ता भएका कारण त्यसलाई रोक्नका लागि आम जनता आफ्नै गाउँबाट उठेर अगाडी बढेका छन् । रोक्ने भनेको चुनावका माध्यामबाट कम्युनिस्ट गठबन्धनलाई पराजित गरेर लोकतान्त्रिक शक्ति वा कांग्रेसलाई विजयी गराउनु हो । त्यसलाई पराजित कसरी गर्न सकिन्छ भन्दा हिजो नेपाली जनताले कम्युनिस्ट शासन लाद्न भनेर उनीहरुलाई भोट दिएका होइनन् । देश कम्यनिस्टीकरण हुन्छ र कम्बोडियाका जस्तै बिसौँ लाख जनता मारिन सक्ने अवस्था आउनसक्छ । अथवा क्युबा र उत्तरकोरिया जस्तै जनतालाई अधिनायवादी शासन लादेर पाउरोटीसम्म खान नदिने व्यवस्था आउनसक्छ । त्यस कारण नेपालका प्रजातान्त्रवादी जनता जुन प्रजातन्त्रका लागि लडे, राजा र राणाका विरुद्धमा लडेर लोकतन्त्र स्थापना गरे तिनीहरुले कम्यनिस्टकरणलाई कदापी स्वीकार गर्दैनन् ।


ADVERTISEMENT

# # #


दोस्रो कुरा कम्युनिस्ट गठबन्धन आफैमा एउटा अपवित्र गठबन्धन हो । यस अवसरवादमा आधारित छ । कम्युनिस्टहरु आफ्नो अनुकुल हुने देखमा आफ्नै नैतिकता, सिद्धान्त बेच्न सक्छन् भन्ने पछिल्लो प्रमाण यो गठबन्धन हो । त्यस कारण  जनता नेपालमा कम्युनिस्ट अधिनायकवाद लाद्न दिँदैनौँ भनेर कांग्रेसलाई भोट हाल्ने दिनको प्रतिक्षामा छन् । लाइन लागेर हेरक निर्वाचन क्षेत्रमा कांग्रेस र लोकतान्त्रिक गठबन्धनका पक्षमा आफ्नो समर्थन जनाउन आतुर छन् ।

यो गठबन्धनलाई चिर्नका लागि नेपाली कांग्रेसले कस्तो रणनीति बनाएको छ ?

मैले अघि भनेजस्तै नेपाली कांग्रेसले जनताका अधिकार संरक्षणका लागि वकालत गर्छ । हामीले राणाकालदेखि नै जनताको पक्षमा, स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै आएका छौँ । जनताका पक्षमा रहेर देशमा शान्ति सुरक्षा कायम गर्नका लागि हामीले नेतृत्वदायी भूमिका खेलेका छौँ । शान्ति स्थापना भएर संविधान जारी भइसकेपछि अब देश समृद्धिको बाटोमा जाला भनेर हामीले जुन आशा गरेका थियौँ, त्यो आउँदो पुसदेखि अगाडी बढ्ने बेलामा कम्युनिस्ट अधिनायकवादको संकेत देखिएको छ ।

फेरि पुस १ गतेदेखि हामीले जनताको अधिकारका लागि लड्नुपर्ने, जनताको स्वतन्त्रताका लागि लड्नुपर्ने, लोकतन्त्र प्रजातन्त्रको आधारभूत कुराको प्राप्तीका लागि लड्नुपर्ने अवस्था कतै आउने हो कि भन्ने हाम्रो आशंका छ । यो चिन्ता र चासो नेपाली जनताका सामू भन्छौँ जो देश तथा विदेशमा बसेका छन् ।

सबै युवा साथीहरुलाई हामीले अनुरोध गरेका छौँ कि विश्व परिवेश तपाईहरुलाई थाहा छ । नेपालमा पनि अधिनायकवादको जुन खतरा आउँदैछ त्यसलाई रोक्नका लागि तपाईँहरुको साथ सहयोग चाहिन्छ । यस कारण तिनीहरुका माध्यामबाट पनि जनता फकाउने प्रयासमा हामी लाग्छौँ । १६ गते मनोनयन पछि दोस्रो चरण निर्वाचन अब सुरु हुन्छ । त्यस पछि सामान्य घरदैलो प्रक्रियादेखि लिएर हामी जनतासंगै जाने हो र उहाँहरुकै साथ लिने हो । बन्दुक, खुकुरीमा हामी विश्वास गर्दैनौँ । जनताका तर्फबाट जनताकै साथले हामी अगाडी बढ्न चाहान्छौँ ।

यद्दपी आइलाग्नेलाई जाईलाग्न पनि पछि नपर्ने कांग्रेसको सिद्धान्त भएकाले यदि कहीँकतै ५४ सालको जस्तै बुथ कब्जा हुने, मतदान केन्द्रमा धाँधली हुने प्रवृत्ति, चुनावलाई भाँड्ने प्रयत्न अगाडी बढ्यो भने त्यसको शसक्त प्रतिरोध गर्ने उद्देश्यले हामी योजना अगाडी बढाउँदैछौँ । बुथको सुरक्षाका लागि नेपाली कांग्रेसले भर्खरै युवाहरुलाई प्रशिक्षण दिएको छ । यस्तै हरेक निर्वाचन क्षेत्रमा चुनाव सम्वन्वय समिति गठन गर्ने कुरा गरिरहेका छौँ ।

यो बेलामा नेविसंघलाई कत्तिको व्यस्तता बढेको छ ?

भखैरै हामीले प्रशिक्षण कार्यक्रम सकेका छौ । ७३३ वटै पालिकामा चुनाव प्रचारप्रसार समिति अगाडी बढेको छ । हरेक पालिकामा केन्द्रिय प्रतिनिधि पठाएर उनीहरुले आफ्ना गतिविधि अगाडी बढाउने योजना अगाडी बढेको छ । धेरै जना साथीहरु त्यसतर्फ गइसक्नु भएको छ । जनताका घरदैलोमा गएर जनताका समस्या बारेमा बुझ्ने र पार्टीका कुराहरु, एजेण्डाहरु बुझाउने काम हुन्छ । कम्युनिस्ट गठबन्धनले अधिनायकवादको खतरा गरेकाले त्यो खतरामुक्त समाज निर्माण गर्नका लागि हामी लाग्नेछौँ । युवाहरुको भविष्यमाथि कम्युनिस्ट अधिनायकवादको खतरा भएकाले नेपाली जनताले कांग्रेसलाई मतदान गर्नु पर्यो भनेर हामी रातदिन जनताको घरदैलोमा हुन्छौँ ।

अन्त्यमा, दलहरु उम्मेद्वार छनोटको प्रक्रियामा रहँदा नेता कार्यकर्ता तथा आम जनतालाई के भन्नुहुन्छ ? कांग्रेसको तर्फबाट यो निर्वाचनमा युवाहरुले कत्तिको ठाउँ पाउँछन् ?

जनतालाई त मैलेँ अघि भनिसकेँ । कम्युनिस्ट गठबन्धनका नाममा एउटा अधिनायकवादको खतरापूर्ण भारी बोकेका व्यक्ति जो एमाले र माओवादीका उम्मेद्वार भएका छन् । तिनीहरुले देशको विकास पनि गर्न सक्दैनन् । विश्वको कम्युनिस्टको इतिहास साक्षी भएका कारणले नेपालका कम्युनिस्ट पनि हामी सर्वहारा वर्गका, गरीबका नेता हौँ भन्छन् । देशमा जनता धनी बने भने उनीहरुको राजनीति नै समाप्त हुने भएका कारण समाजलाई गरिबी मै राखिराख्ने जुन प्रवृत्ति उनीहरुको छ त्यसका बारेमा हामी सचेत हुनु पर्छ ।

टिकटको कुरा गर्नु पर्दा नेपाली कांग्रेसको टिकट लिने व्यक्ति भरसक स्वच्छ छवी भएको, पूरानोलाई सम्मान दिने र युवाको पनि माग र आवश्यकता बुझ्ने खालका छन् । अहिले सबैको समान प्रतिनिधित्व हुने भएको छ । हामीले भनेका छौँ नेपाल विद्यार्थी संगठनका तर्फबाट कम्तीमा २० प्रतिशतभन्दा बढी उम्मेद्वारी दिनुपर्छ भनेर हामीले लिखित पत्र नै बुझाएका छौँ । यस कारण अहिलेका कांग्रेसका ठूला नेताहरु पनि विद्यार्थी संगठनबाटै जानु भएकाले युवाहरुलाई विशेष प्राथमिकता दिनुपर्छ भनेर हामीले भनेका छौँ ।